`

५ हजार २३५ घरधुरीले ८५ वर्षदेखि पाएका छैनन् लालपुर्जा

Nepal One HD १५ असार २०८३ १४:०३
प्रमुख खबर

काठमाडौं । सप्तरीको राजापुर नगरपालिकाका हजारौँ परिवारले आठ दशकभन्दा बढी समयदेखि लालपुर्जा नपाएको विषय राष्ट्रिय सभामा उठेको छ।

नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले आइतबारको बैठकमा राजापुरका नागरिकको जग्गा स्वामित्वसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।

सांसद कर्णका अनुसार राजापुर नगरपालिकाका करिब ५ हजार २३५ घरधुरी विगत ८५ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा बसोबास गर्दै आएका छन्। सोही माग राख्दै स्थानीयवासी ४३ दिनदेखि निरन्तर आन्दोलनमा रहेको उनले जानकारी दिए।

उनले राजापुर क्षेत्रमा करिब ७० बिघा जग्गासँग सम्बन्धित विवाद लामो समयदेखि समाधान हुन नसकेको उल्लेख गर्दै सरकारले यस विषयमा आवश्यक चासो नदिएको आरोप लगाए।

सांसद कर्णले २०८० सालमा नापी कार्यालयले लालपुर्जा वितरण गर्ने सूचना जारी गरे पनि त्यसपछि प्रक्रिया अघि नबढेको बताए। सुरु गरिएको काम बीचमै रोकिँदा स्थानीय नागरिक अन्यायमा परेको उनको भनाइ थियो।

राजापुरका सबै वास्तविक जग्गाधनीलाई शीघ्र लालपुर्जा वितरण गरी दशकौँदेखि कायम समस्या अन्त्य गर्न उनले सरकारसँग आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *