सुकुम्बासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भन्ने व्यक्ति होल्डिङ सेन्टरबाट पक्राउ
काठमाडौं। सामाजिक सञ्जालमार्फत सुकुमबासी समस्या समाधान नभए खुकुरी प्रहार गर्ने धम्की दिएको आरोपमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार तामाङलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार तामाङले सामाजिक सञ्जालमा खुकुरी प्रदर्शन गर्दै सुकुमबासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए। उक्त सामग्री सार्वजनिक भएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त सिंहदरबारले गरिरहेको प्रहरीले जनाएको छ।
