जापानलाई २-१ ले हराउँदै ब्राजिल प्रि-क्वार्टरफाइनलमा
काठमाडाैं । ब्राजिल फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनल (राउन्ड अफ १६) मा प्रवेश गरेको छ।
सोमबार राति अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
पाँचपटकको विश्वकप विजेता ब्राजिलले पुनरागमन जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो।
खेलको पहिलो हाफमा जापानले १-० को अग्रता बनाएको थियो। २९औँ मिनेटमा काइसु सानाेले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा खेलमा फर्कियो। ५६औँ मिनेटमा कासेमिराेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
त्यसपछि निर्धारित ९० मिनेटसम्म थप गोल हुन सकेन। खेल १-१ को बराबरीमा रहेपछि रेफ्रीले ६ मिनेट इन्जुरी समय थपेका थिए। इन्जुरी समयको अन्तिम मिनेटमा गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २-१ को जित दिलाए।
यससँगै ब्राजिल विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा पुगेको छ। पराजित जापानको भने यस संस्करणको विश्वकप यात्रा अन्त्य भएको छ।
अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि राउन्ड अफ १६ को अर्को चुनौती सामना गर्नेछ।
