गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे
गोरखा। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेका छन् ।
दुई महिनायता फैलिएको अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट हालसम्म २५० भन्दा बढी सुँगुर/बङ्गुर मरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा नगरपालिका-६, मानवसेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका ८० वटा र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका १० वटा बङ्गुर मरेका छन् । त्यस्तै मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्मका ६० वटा बङ्गुर दुई साताको अवधिमा मरेका उनले जानकारी दिए । बाँकी अन्य किसानका फार्मका सुँगुर/बङ्गुर पनि सङ्क्रमणका कारण मरेका हुन् ।
अहिलेसम्मको तथ्याङ्कअनुसार गोरखा नगरपालिका-६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का फार्ममा रहेका सुँगुर/बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण फैलिएको कोइरालाले जानकारी दिए। उहाँका अनुसार जिल्लामा यो रोगको सङ्क्रमण पहिचान भएको करिब दुई महिना मात्र भएको छ ।
कार्यालय प्रमुख कोइरालाले , “अहिलेसम्म यस रोगको न उपचार छ, न त खोप नै उपलब्ध छ । त्यसैले सङ्क्रमण भएपछि सुँगुर/बङ्गुर मर्नु निश्चितजस्तै हुन्छ । सङ्क्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधिमार्फत पनि यो रोग सर्न सक्छ ।” उनका अनुसार उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु नै एक मात्र उपाय हो ।
“अफ्रिकन स्वाइन फिभरका कारण धमाधम सुँगुर/बङ्गुर मरेका जानकारी आएका छन् । केही फार्म दर्ता भएका छन् भने केही दर्ताविहीन भएकाले सबै विवरण प्राप्त नभएको हुन सक्छ”, कोइरालाले भ । उनले रोगबाट बच्न सङ्क्रमित खोर तथा त्यहाँको संसर्गबाट टाढा रहन सुझाव दिए ।
किसान धनकुमार गुरुङका अनुसार सङ्क्रमण भएपछि सुँगुर/बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने तथा करिब एक साताभित्र मर्ने लक्षण देखिने गर्दछ ।
