`

‘संसद्को स्तर खस्किएको’ स्वीकार्दै कानुनमन्त्री गौतमले गरिन् आत्मसमीक्षाको आह्वान

Nepal One HD १६ असार २०८३ ११:२७
राजनीति

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को प्रभावकारिता, मर्यादा र जनविश्वास पुनः स्थापित गर्न सांसदहरूले आफ्नै कार्यशैली, आचरण र प्राथमिकतामाथि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले त्यसको गरिमा जोगाउने जिम्मेवारी सबै सांसदको सामूहिक दायित्व भएको स्पष्ट पारिन्।

उनले पछिल्ला वर्षहरूमा संसद्को गुणस्तर खस्किएको भन्ने जनधारणा बढ्दै गएको स्वीकार गर्दै यसको कारण बाहिर नभई संसद्भित्रकै अभ्यास, व्यवहार र प्राथमिकतामा खोजिनुपर्ने धारणा राखिन्। संसद्को समय प्रक्रियागत विवाद, आरोप-प्रत्यारोप वा अनावश्यक विषयमा खर्चिनुभन्दा जनताका वास्तविक समस्या समाधानका विषयमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन्।

मन्त्री गौतमका अनुसार संसदीय अभ्यासको मूल उद्देश्य सरकारलाई जवाफदेही बनाउनु, प्रभावकारी कानुन निर्माण गर्नु र जनताका आवाजलाई संस्थागत रूपमा उठाउनु हो। त्यसैले संसद्को प्रत्येक बैठक जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनले प्रक्रियागत तथा प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति, दलहरूबीचको छलफल वा अन्य अनौपचारिक संयन्त्रमार्फत समाधान गर्न सकिने उल्लेख गर्दै सदनको बहुमूल्य समय त्यस्ता विषयमा खर्चिनु उपयुक्त नहुने तर्क गरिन्। संसद् बैठकमा प्रवेश गरिसकेपछि शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, सेवा प्रवाह, विकास निर्माण र नागरिकका दैनिक समस्याजस्ता जनसरोकारका मुद्दालाई प्राथमिकता दिनुपर्ने उनले बताइन्।

जनताले तिरेको करबाट राज्य सञ्चालन हुने र त्यही करबाट संसद्को सम्पूर्ण खर्च व्यवस्थापन हुने स्मरण गराउँदै मन्त्री गौतमले सांसदले बोल्ने प्रत्येक मिनेटको प्रत्यक्ष उत्तरदायित्व नागरिकप्रति हुने उल्लेख गरिन्। जनताले आफ्ना प्रतिनिधिलाई व्यक्तिगत वा दलगत स्वार्थका लागि नभई आफ्ना समस्या उठाउन संसद्मा पठाएको विश्वासलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।

उनले संसद्को प्रभावकारिता बहसको सङ्ख्याले नभई बहसको गुणस्तरले निर्धारण हुने बताइन्। सरकारले गरेका कामको प्रभावकारी समीक्षा, आवश्यक कानुनी सुधार र नागरिकको जीवनस्तर उकास्ने नीति निर्माणतर्फ सांसदहरूको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन्।

संसद्को गरिमा केवल कानुन र नियमले मात्र सुरक्षित नहुने उल्लेख गर्दै मन्त्री गौतमले सांसदहरूको व्यक्तिगत व्यवहार, बोल्ने भाषा, प्रयोग गरिने शब्द, प्रस्तुतिको शैली र पोसाकसम्मले संसद्को छवि निर्माण गर्ने बताइन्। संसद् जनताले सम्मानका साथ हेर्ने संस्था भएकाले त्यहाँ उपस्थित हुने प्रत्येक सांसदले आफ्नो आचरणबाट त्यसको मर्यादा जोगाउनुपर्ने उनको धारणा थियो।

उनले संसद्को प्रतिष्ठा कमजोर हुनु लोकतान्त्रिक व्यवस्थाप्रतिको जनविश्वास कमजोर हुनु पनि भएको उल्लेख गर्दै सांसदहरूले आफ्ना व्यवहारमा सुधार ल्याए संसद्प्रति नागरिकको दृष्टिकोण स्वतः सकारात्मक बन्ने विश्वास व्यक्त गरिन्।

मन्त्री गौतमले संसद्लाई जनताको सर्वोच्च थलोका रूपमा व्यवहारमै स्थापित गर्न सबै सांसदलाई आग्रह गर्दै आफू पनि संसद्को मर्यादा, अनुशासन र जिम्मेवारी पालनाका लागि शतप्रतिशत प्रतिबद्ध रहने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *