रास्वपा केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनले नेपाली पार्टी राजनीतिमा महिला प्रतिनिधित्वका हिसाबले नयाँ इतिहास रचेको छ। महाधिवेशनको निर्वाचनबाट केन्द्रीय समितिमा निर्वाचित हुने सदस्यमध्ये ५१ प्रतिशत महिला रहेका छन्, जुन कुनै पनि नेपाली राजनीतिक दलको महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनमार्फत केन्द्रीय समितिमा पुगेको अहिलेसम्मकै उच्च महिला सहभागिता हो।
नेपालको संविधानले सार्वजनिक पद तथा राज्यका विभिन्न निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ। रास्वपाको महाधिवेशनले भने उक्त संवैधानिक न्यूनतम सीमाभन्दा निकै माथि पुग्दै प्रत्यक्ष निर्वाचनबाटै ५१ प्रतिशत महिला केन्द्रीय समितिमा निर्वाचित गराएको छ। यसलाई पार्टीभित्र समावेशी नेतृत्व र लैंगिक प्रतिनिधित्वको उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।
रास्वपाको विधानअनुसार केन्द्रीय समितिमा कुल १५८ सदस्य रहने व्यवस्था छ। त्यसमध्ये कम्तीमा एकतिहाइ अर्थात् ५३ जना महिला अनिवार्य हुनुपर्ने प्रावधान छ। पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनबाट नै ५० जना महिला निर्वाचित भएका छन्। यससँगै विधानले तोकेको न्यूनतम महिला सहभागिताको लक्ष्य लगभग पूरा भइसकेको छ।
अब पार्टी सभापति रवि लामिछानेले विधानअनुसार ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्नेछन्। मनोनयन प्रक्रियामा पनि उल्लेख्य संख्यामा महिला समेटिने अपेक्षा गरिएको छ। यदि त्यसो भए रास्वपाको नयाँ केन्द्रीय समितिमा महिलाको सहभागिता अझ बढ्नेछ।
विश्लेषकहरूका अनुसार रास्वपाको यो नतिजाले नेपाली राजनीतिमा महिला नेतृत्वको भूमिका थप सशक्त बनाउने संकेत दिएको छ। यसले अन्य राजनीतिक दलहरूलाई पनि नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न प्रेरणा दिन सक्ने अपेक्षा गरिएको छ।
