सिरियाको बफर जोनमा किन जरा गाड्न खोज्दैछ इजरायल?
काठमाडौं। संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको दक्षिणी सिरियाको बफर जोनमा इजरायलले अनिश्चितकालसम्म सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेपछि त्यस क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनेको छ।
दक्षिणी सिरियाको अब्दिन गाउँमा प्रवेश गरेको इजरायली सेनाको स्थानीय बासिन्दासँग झडप भएपछि तनाव अझ बढेको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार गाउँमा प्रवेश गरेका इजरायली सैनिकलाई स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका थिए। गाउँलेहरूले सडकमा ठूला ढुंगा राख्दै सैन्य सवारीसाधनको आवागमन रोक्ने प्रयास गरेका थिए भने केही प्रदर्शनकारीले सैनिकमाथि ढुंगामुढासमेत गरेका थिए।
स्थिति नियन्त्रणमा लिन इजरायली सेनाले हवाइ फायर गरेको र केही घरका पर्खालतर्फ चेतावनीस्वरूप गोली चलाएको बताइएको छ। त्यसक्रममा गाउँका केही क्षेत्रमा गोलाबारीसमेत भएपछि स्थानीयमा त्रास फैलिएको छ। घटनापछि धेरै परिवार गाउँ छाड्न बाध्य भएका छन् भने सोमबारसम्म पनि अधिकांश बासिन्दा आफ्नो घर फर्किन सकेका छैनन्।
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शराअले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै इजरायललाई बफर जोनबाट आफ्नो सेना तत्काल फिर्ता गर्न आग्रह गरेका छन्।
उनले सिरियाको सार्वभौमिकतामाथि हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई पनि घटनाप्रति ध्यान दिन आह्वान गरेका छन्।
इजरायलले भने आफ्नो कदम रक्षात्मक भएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार भविष्यमा हुन सक्ने आक्रमण रोक्न र सीमाको सुरक्षा सुनिश्चित गर्न रणनीतिक रूपमा महत्वपूर्ण बफर जोनमा सैन्य उपस्थिति आवश्यक छ।
अब्दिन गाउँका स्थानीय बासिन्दा मोहम्मद अल-हसनका अनुसार इजरायली सैनिकहरू नियमित रूपमा बख्तरबन्द गाडी लिएर गाउँ प्रवेश गर्ने गरेका छन्।
उनका अनुसार सैनिकहरूले गाउँभरि गस्ती गर्ने, घर-घरमा तलासी लिने र ढोका नखोले जबर्जस्ती प्रवेश गर्ने गरेका छन्। यसले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकमा डरको वातावरण सिर्जना भएको उनले बताए।
स्थानीयका अनुसार बारम्बार हुने सैन्य गतिविधिका कारण सामान्य जनजीवन प्रभावित भएको छ भने खेतीपाती, व्यापार तथा विद्यालय सञ्चालनसमेत प्रभावित हुन थालेको छ।
अब्दिनमा भएको झडप पछिल्लो २४ घण्टाभित्र भएको दोस्रो महत्वपूर्ण सुरक्षा घटना हो।
यसअघि इजरायली सेनाले दक्षिणी सिरियामा आफ्ना सैनिकमाथि आक्रमण गर्ने तयारी गरिरहेका दुई जना बन्दुकधारीलाई कारबाहीमा मारिएको दाबी गरेको थियो। त्यसपछि सुरक्षा अवस्था झन् संवेदनशील बनेको बताइएको छ।
स्थानीय बासिन्दाले अमेरिका र फ्रान्सको पहलमा इजरायल र सिरियाबीच सुरक्षा वार्ता हुने अपेक्षा गरेका थिए। उनीहरूको विश्वास थियो कि कूटनीतिक संवादमार्फत सीमावर्ती क्षेत्रमा बढ्दो तनाव कम हुन सक्छ।
तर, प्रस्तावित वार्ता हाल रोकिएकाले स्थानीयमा अन्योल र चिन्ता थपिएको छ।
दक्षिणी सिरियाका सीमावर्ती गाउँहरूमा सुरक्षा चुनौतीसँगै आधारभूत सेवाको अभाव पनि गम्भीर समस्या बनेको छ।
स्थानीयका अनुसार सरकारी सुरक्षा चौकी गाउँबाट करिब १० किलोमिटर टाढा रहेकाले आपत्कालीन अवस्थामा तत्काल सुरक्षा सहायता प्राप्त गर्न कठिन हुने गरेको छ। त्यसैगरी बिजुली, खानेपानी तथा अन्य सार्वजनिक सेवाको अभावले स्थानीयको दैनिकी थप कष्टकर बनेको छ।
सुरक्षा जोखिम बढ्दै जाँदा धेरै परिवार सुरक्षित स्थानतर्फ बसाइँ सर्न थालेका छन्।
दक्षिणी सिरियाको बफर जोनलाई लिएर विवाद सन् २०२४ डिसेम्बरपछि तीव्र बनेको हो।
विद्रोही समूहको आक्रमणपछि तत्कालीन राष्ट्रपति बसर अल–असद सत्ताबाट बाहिरिएपछि इजरायलले संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको बफर जोनमा आफ्ना सैनिक परिचालन गरेको थियो।
सुरुआती चरणमा इजरायलले यसलाई सीमाको सुरक्षाका लागि गरिएको अस्थायी व्यवस्था भनेको थियो। तर पछिल्ला महिनाहरूमा इजरायली अधिकारीहरूले उक्त क्षेत्रमा अनिश्चितकालसम्म सैन्य उपस्थिति कायम रहने संकेत दिएका छन्।
सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि इजरायलले आफ्नो सुरक्षा रणनीतिमा व्यापक परिवर्तन गरेको छ।
गाजामा सैन्य अभियान विस्तारसँगै इजरायलले लेबनान र सिरियासँग जोडिएका सीमावर्ती केही क्षेत्रलाई पनि सुरक्षा बफरका रूपमा प्रयोग गर्न थालेको छ। इजरायलका अनुसार ती क्षेत्रबाट हिजबुल्लाहलगायत सशस्त्र समूहले विगतमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएकाले आफ्ना नागरिकको सुरक्षाका लागि यस्तो नीति अपनाउनुपरेको हो।
यद्यपि सिरियाले इजरायलको सैन्य उपस्थितिलाई आफ्नो सार्वभौमिकतामाथिको अतिक्रमण भनेको छ। अन्तर्राष्ट्रिय समुदायका विभिन्न पक्षले पनि संयुक्त राष्ट्रसंघको निगरानीमा रहेको क्षेत्रमा दीर्घकालीन सैन्य नियन्त्रण अन्तर्राष्ट्रिय कानुनको भावना विपरीत हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्।
तनाव निरन्तर बढ्दै जाँदा कूटनीतिक समाधानको आवश्यकता झन् बढेको विश्लेषण गरिएको छ।
