`

बालेन त्यसबेला पक्राउ परेनन्

जङ्ग तामाङ १६ असार २०८३ १४:४५
बिशेष

काठमाडाै‌ं। सिंहदरबारमा खुकुरी लिएर जान सकिन्छ भन्दा सुकुम्बासी डम्बर तामाङ पक्राउ परे। उनी अहिले प्रहरी हिरासतमा छन्। तर काठमाडौंका मेयर हुँदा अहिलेका प्रधानमन्त्री बालेनले ‘सिंहदरबार जलाइदिन्छु’ भने, उनी पक्राउ परेनन्। उनको त्यो अभिव्यक्ति देशको प्रमुख प्रशासनिक अड्डा जलाउने धम्की हिंसाप्रेरित थियो।

तर, त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेनलाई पक्राउ गराएनन्। भनिन्छ, कांग्रेस सभापति शेरबहादुर देउवाले बालेनलाई पक्राउ गर्न रोकेका थिए। उनले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने र बोल्ने बित्तिकै आगो नलाग्ने भन्दै पक्राउ गर्न नहुने बताएका थिए।

देउवाका कारण पक्राउ पर्नबाट जोगिएका बालेनले यतिबेला सिंहदरबारमा खुकुरी लिएर जान सकिन्छ भन्दा सुकुम्बासी डम्बर तामाङलाई पक्राउ गराए। अर्थात् प्रधानमन्त्री बालेनले सत्ता र शक्तिको तुजुक देखाए। उनलाई प्रहरी हिरासतमा थुनाए।

बालेन तिनै प्रधानमन्त्री हुन्, जसले तामाङसहित हजारौँ नागरिकलाई काठमाडौंको खोला किनारमा रहेका सुकुम्बासी बस्तीबाट गत १२ वैशाखदेखि झण्डै एक सातासम्म डोजर चलाएर हटाए। विभिन्न आश्रयस्थलमा लगेर राखे। उनीहरूको दीगो व्यवस्थापन गर्ने वाचा गरे।

तर, आश्रयस्थलमा उनीहरूले पेटभरि खान पाएनन्। त्यसपछि उनीहरू आन्दोलित भए। संसदीय समितिले अनुगमनपछि सुकुम्बासीमाथि बालेन सरकारको ज्यादती भएको खुलायो। तर पनि प्रधानमन्त्री बालेनले बेवास्ता गरे। अझ उनले सुकुम्बासीहरूलाई आश्रयस्थलबाट २५ हजार रुपैयाँ दिएर हटाउन खोजेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै यही १२ असारमा आश्रयस्थलबाट हट्न निर्देशन दियो। त्यसपछि उनीहरू काठमाडौंको माइतीघरमा आन्दोलित छन्। आन्दोलनमा सहभागी तामाङले बालेन सरकारले अत्याचार गरेको, व्यवस्थापनका नाममा विस्थापन गरेको र व्यवस्थापनका लागि कुनै कदम नचालेको भन्दै आक्रोश व्यक्त गर्दै सिंहदरबारमा खुकुरी लिएर जान सकिने बताएका थिए। सोही आधारमा तामाङ पक्राउ परेका हुन्। उनलाई आइतबार प्रहरीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर नजिकैबाट पक्राउ गरेको थियो। उनले सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप प्रहरीले लगाएको छ।

तर, सुकुम्बासीहरूले भने विरोधको आवाज थुन्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरेका छन्। आफूचाहिँ हिजो सिंहदरबार जलाउँछु भन्ने, तर आज अरूले सिंहदरबारभित्र खुकुरी लिएर जान सकिन्छ भन्दा पक्राउ गर्नु कत्तिको जायज हो ? सुकुम्बासीहरूले प्रश्न गरिरहेका छन्।

कतिपयले बालेन मेयर हुँदा उनले पटकपटक हिंसाप्रेरित अभिव्यक्ति दिएको स्मरण गरेका छन्। सिंहदरबार जलाउनेदेखि उनले अश्लील शब्दहरू पनि बारम्बार प्रयोग गर्थे। तर, उनका समर्थकहरू बालेनले यस्तो भन्दा र लेख्दा निकै खुसी हुन्थे। अहिले पनि खुसी हुन्छन्। उनी र्‍यापर हुँदा भने छाडा शब्दहरू प्रयोग गर्थे। उनका र्‍याप परिवारका सदस्यहरूसँगै बसेर सुन्न नसकिने खालका हुन्थे।

भनिन्छ, उनले र्‍यापमार्फत तत्कालीन सरकारको कडा आलोचना मात्रै गरेनन्, छाडा शब्द प्रयोग गरेर नवपुस्तालाई थेत्तरो बनाउन पनि सहयोग गरे। यद्यपि, उनी जतिखेर र्‍यापर थिए, त्यसबेला गरिबको पक्षमा बोल्थे। भन्थे- गरिबको चमेली बोलिदिने कोही छैन।

तर, जब उनी काठमाडौंका मेयर हुँदै प्रधानमन्त्री भए, उनी गरिबमारा बने। डम्बर तामाङसहितका सुकुम्बासीलाई बिना पूर्वतयारी सुकुम्बासी बस्तीबाट सेनाको प्रयोग गरी बलपूर्वक हटाए। काठमाडौंका मेयर हुँदा ठेलामा तरकारी बेच्नेहरूलाई खेदाए। कवाडी संकलन गर्नेहरूलाई धपाए। अर्थात् उनी गरिबविरोधी भए। उनका सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि गरिबलाई झन् गरिब बनाउने बजेट ल्याए।

यसप्रति प्रतिपक्ष दलहरूले बालेन सरकारको विरोध गरेका छन् भने २५ हजार रुपैयाँ दिएर आश्रयस्थलबाट हटाउने सरकारको कदमप्रति असन्तुष्ट हुँदै सिंहदरबारमा खुकुरी लिएर जाने बताएका तामाङलाई पक्राउ गरेर जेलतर्फ पठाउने प्रपञ्चमा बालेन सरकार लागेको आरोप लगाइएको छ।

बालेन सरकारको यस्तो गतिविधिलाई कतिपयले निरंकुश र अधिनायकवादी चरित्रको रूपमा आलोचना गरेका छन्। पक्राउ परेका तामाङको रिहाइको माग भइरहेको छ। उनकी श्रीमती गायत्री तामाङले डम्बर खुकुरी बोकेर हिँड्ने मान्छे नभएको र सरकारले २५ हजार रुपैयाँ दिएर धपाउन खोज्दा आक्रोशित भएर त्यस्तो बोलेको हुन सक्ने भन्दै क्षमा मागेकी छन्। तर, उनका श्रीमान् डम्बर तामाङ अझै रिहा भएका छैनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *