`

सुस्ता र कालापानी नेपालको अभिन्न भूभाग हो : परराष्ट्रमन्त्री

Nepal One HD १७ असार २०८३ १५:०८
प्रमुख खबर

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै सीमा सम्बन्धी विषय सरकारका लागि स्पष्ट रहेको बताएका छन्।

उनले यस्ता विवाद कूटनीतिक संवाद र आपसी वार्तामार्फत समाधान गर्ने सरकारको नीति रहेको पनि दोहोर्‍याए।

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सुस्तामा नारायणी नदीको तटबन्ध निर्माणका क्रममा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेको विषय तथा सीमा विवाद समाधानका योजनाबारे उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले नेपाल-भारत सीमा १८१६ को सुगौली सन्धिले निर्धारण गरेको बताए।

उनले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सीमाङ्कनको कार्य अझै बाँकी रहेको उल्लेख गर्दै नेपालसँग ती भूभाग आफ्नो भएको पुष्टि गर्ने ऐतिहासिक प्रमाण, नक्सा र अन्य आधारहरू रहेको बताए।

सुस्तामा तटबन्ध निर्माणका क्रममा भारतीय पक्षले आपसी समन्वयपछि मात्रै काम अघि बढाउन आग्रह गरेकाले केही समय निर्माण कार्य रोकिएको मन्त्री खनालले स्वीकार गरे।

उनले सीमा सम्बन्धी सबै विषय वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै राष्ट्रिय हित, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकहरूसँग पारस्परिक सम्मान र सन्तुलित सम्बन्ध कायम राख्दै सीमा समस्याको दीर्घकालीन समाधान खोज्ने दिशामा सरकार अघि बढिरहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *