कोशी प्रदेशको बजेट विवाद : नेकपाद्वारा बजेट संशोधन गर्न माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटप्रति गम्भीर असहमति जनाएको छ। पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बजेटलाई संशोधन गरेर पुनः प्रदेशसभामा प्रस्तुत गर्न माग गरेको हो।
नेकपाका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटजस्तो संवेदनशील विषयमा प्रदेशसभामा पर्याप्त छलफल हुन नदिनु सरकारको ‘अलोकतान्त्रिक र गैरजिम्मेवार’ कार्य भएको आरोप लगाइएको छ। प्रदेशसभाको बैठक पटक–पटक स्थगित गरेर सांसदहरूको असन्तुष्टि छल्न खोजिएको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
विज्ञप्तिमा प्रदेशसभामा बजेट प्रस्तुत भएको केही दिनमै सांसदहरूले विरोध जनाएको, बैठक पटक–पटक अवरुद्ध भएको तथा स्वयं मुख्यमन्त्रीले सार्वजनिक रूपमा ‘बजेट बिग्रियो’ भनेको उल्लेख गर्दै यसले बजेट नैतिक, राजनीतिक र व्यावहारिक रूपमा असफल भएको पुष्टि गरेको दाबी गरिएको छ।
नेकपाले कांग्रेस–एमाले गठबन्धन सरकारमाथि बजेट निर्माण प्रक्रियामा असन्तुलन ल्याएको आरोप पनि लगाएको छ। विज्ञप्तिमा बजेट मन्त्रीकेन्द्रित, सीमित नेताका निर्वाचन क्षेत्र केन्द्रित तथा कार्यकर्ता पोस्ने उद्देश्यले ल्याइएको आरोप लगाउँदै यसले प्रदेशको समग्र विकासभन्दा वितरणमुखी राजनीति प्राथमिकतामा परेको टिप्पणी गरिएको छ।
पार्टीले प्रदेशसभामा आफ्ना सांसदहरूले उठाएका बजेट संशोधनका माग जनभावनाअनुकूल र जायज रहेको दाबी गरेको छ। मुख्यमन्त्रीले सार्वजनिक रूपमा बजेटमा कमजोरी स्वीकार गरिसकेको अवस्थामा प्रशासनिक वा प्रक्रियागत उपायमार्फत त्यसलाई वैधता दिन खोज्नु स्वीकार्य नहुने नेकपाको भनाइ छ।
विज्ञप्तिमा प्रदेशसभामा पेश भइसकेको बजेटलाई संसदीय प्रक्रिया, छलफल र पारदर्शी विधिबाट संशोधन गर्न सरकारसँग माग गरिएको छ। साथै प्रदेशको विकास र जनजीविकासँग प्रत्यक्ष जोडिएको बजेटलाई व्यापक सहमतिका आधारमा अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
कोशी प्रदेशको बजेटलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच विवाद चुलिँदै गएको बेला नेकपाको यो धारणा सार्वजनिक भएको हो। बजेटमाथिको राजनीतिक विवादका कारण प्रदेशसभा बैठकको कार्यसूचीसमेत प्रभावित हुँदै आएको छ।
