राहदानी घर दैलोमा पुर्याउन सुरू गरेका छौँ : सरकार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै ‘सरकारी सेवा घरघर’ अभियानअन्तर्गत हुम्ला र भोजपुरबाहेक देशका सबै जिल्लामा घरदैलोमै राहदानी पुर्याउने सेवा सुरु गरेको जनाएको छ।
सरकारको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकको पहुँचमा सेवा पुर्याई सरकारप्रतिको विश्वास र भरोसा बढाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको बताए।
सरकारका अनुसार हालसम्म हुलाकमार्फत दुई लाख ६ हजार ३३० राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। तीमध्ये पाँच हजार ७२८ राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन फ्रन्ट डेस्कमा कार्यरत करिब ५०० कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत तालिम प्रदान गरिएको पनि सरकारले जनाएको छ।
यस्तै, कम्पनी दर्तासँगै स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने व्यवस्था कम्पनी रजिष्ट्रारको कार्यालयका साथै १२० स्थानीय तहबाट समेत उपलब्ध गराइएको छ।
सरकारले लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारीचालक अनुमतिपत्रमध्ये हालसम्म २३ लाख ७५ हजार १८१ थान लाइसेन्स छपाइ सम्पन्न भएको र असार मसान्तसम्म २९ लाख थान छपाइ पूरा गर्ने लक्ष्य रहेको जनाएको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालयहरूबाट एकद्वार सेवा प्रणालीमार्फत सेवा प्रवाह विस्तार गर्न गठित कार्यदलको सिफारिसअनुसार हाल ३२ जिल्लामा उक्त प्रणाली कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ।
