विदेशी अधिकारीसँग पहिलो औपचारिक भेट गर्दैछन् प्रधानमन्त्री बालेन
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक कुनै विदेशी उच्च अधिकारीसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
सरकार गठनयता प्रधानमन्त्री शाहले विदेशी राजदूत तथा उच्च कूटनीतिक अधिकारीहरूसँग व्यक्तिगत भेटघाट नगर्ने अभ्यास अपनाएका थिए। त्यसैले एडीबी अध्यक्षसँग हुन लागेको भेटलाई प्रधानमन्त्रीको कूटनीतिक अभ्यासमा आएको पहिलो महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अन्य सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् भने मंगलबार प्रधानमन्त्री शाहसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ।
कान्डासँगै एडीबीका उच्च अधिकारीहरूको प्रतिनिधिमण्डल पनि नेपाल आउनेछ। उक्त टोलीमा दक्षिण, मध्य तथा पश्चिम एसियाका लागि एडीबीकी उपाध्यक्ष तथा नेपाली नागरिक सोना श्रेष्ठ पनि सहभागी रहनेछिन्।
प्रधानमन्त्री शाहले यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग व्यक्तिगत भेट गर्न अस्वीकार गरेका थिए। त्यसपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणसमेत स्थगित भएको थियो।
व्यक्तिगत भेटघाटको सट्टा प्रधानमन्त्री शाहले संस्थागत तथा सामूहिक कूटनीतिक संवादलाई प्राथमिकता दिएका थिए। वैशाख ८ गते उनले काठमाडौंस्थित विभिन्न मुलुकका कूटनीतिज्ञहरूसँग संयुक्त भेट गरेका थिए भने जेठ २६ गते युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखसहित अस्ट्रेलिया, रुस, थाइल्यान्ड, म्यानमार, संयुक्त अरब इमिरेट्स, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका प्रतिनिधिमण्डलसँग सामूहिक छलफल गरेका थिए।
परराष्ट्र मामिलाका जानकारहरूका अनुसार प्रधानमन्त्री शाहले अपनाएको यो अभ्यासले व्यक्तिकेन्द्रित कूटनीतिभन्दा संस्थागत र राज्य–केन्द्रित कूटनीतिक संयन्त्रलाई प्राथमिकता दिने संकेत गरेको थियो। एडीबी अध्यक्षसँगको भेटले भने विकास साझेदारी, बहुपक्षीय वित्तीय सहयोग र आर्थिक सहकार्यका विषयलाई केन्द्रमा राख्दै त्यस अभ्यासमा व्यवहारिक लचकता आएको देखाएको उनीहरूको विश्लेषण छ।
भ्रमणका क्रममा दुई महत्वपूर्ण सम्झौताको तयारी
एडीबी अध्यक्ष कान्डाको नेपाल भ्रमणका अवसरमा नेपाल सरकार र एडीबीबीच दुई महत्वपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ।
पहिलो सम्झौता ५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋणसम्बन्धी हुनेछ। यसबाट भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण तथा रोजगारी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस्तै ११ करोड ५० लाख अमेरिकी डलर बराबरको एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजनासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने सम्भावना छ। आयोजनाअन्तर्गत जलवायु–अनुकूल खानेपानी सेवा विस्तार, शहरी सरसफाइ सुधार, ढल व्यवस्थापन, फोहोरमैला तथा लेदो व्यवस्थापनका पूर्वाधार विकास गरिने लक्ष्य राखिएको छ।
नेपाल भ्रमणका क्रममा कान्डाले एडीबीको लगानीमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको छ।
