`

५४ वर्ष बित्दा पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति अधुरै

Nepal One HD २२ असार २०८३ १९:१६
समाचार

लमजुङ। डुम्रेदेखि बेँसी सहर जाने मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसकेपछि यहाँका स्थानीय कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।विसं २०२९ मा सुरु भएको ‘डुम्रे–बेँसी’ सहर ४२ किमी सडक विसं २०४६ मा खुलेको थियो भने विसं २०५२ सालमा कालोपत्र सुरु गरिएको थियो ।

डुम्रे–बेँसीसहर सडकखण्डमा सञ्चालन हुने सवारीसाधन सजिलो तरिकाले सञ्चालन हुन सकेका छैनन् भने यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

लमजुङ र तनहुँ जोड्ने यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न जनताले जताततै हारगुहार गरे पनि हालसम्म सडक स्तरोन्नति गर्ने काम अघि बढ्न सकेको छैन ।

उल्टै वर्षा मौसममा निर्माण कम्पनीले जथाभावी निर्माण सामग्री, थन्काएर राखिदिएका कारण सडक आवतजावतमा यात्रुहरुले थप कठिनाइ व्यहोर्नु परेको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने यो सडकका कारण व्यहोर्नु परेको कष्ट कहालिलाग्दो भएको यहाँका स्थानीयले व्यापक गुनासो गर्ने गरेका छन् ।

पछिल्लो पटक जनताको हारगुहारपछि भने डुम्रे–बेँसीसहर–चामे सडक तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागर खण्डको करिब आठ दशमलव नौ किलोमिटर दुई लेनमा विस्तार भइरहेको छ। “पानी पर्दा हिलो हुन्छ, घाम लाग्दा धुलोले देख्नै गाह्रो हुन्छ, यात्रा निकै कठिन छ,” यात्रु सरिता गुरुङले बताउनुभयो ।

“वर्षामा त यो सडकमा यात्रा गर्न निकै गाह्रो छ,” सवारी चालक नारायण घिमिरेले भन्नुभयो । डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले सडक पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८२ जेठमा कार्यसम्पन्न गर्ने गरि सम्झौता भएको बताउनुहुन्छ ।

दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि हाल्सम्म काम सकिएको छैन। सडकको निर्माण लागत रु ७२ करोड रहेको छ। निर्माणका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो ।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका क्षेत्र जोड्ने मुख्य मार्ग हो । यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर हुँदै यात्रा गर्ने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *