`

८४ प्रतिशत खेत बाँझै

Nepal One HD २७ असार २०८३ १४:०६
अर्थ समाचार

रौतहट। असारको अन्तिमतिर आइपुग्दा पनि पर्याप्त वर्षा नहुँदा रौतहटका सयौँ किसान धान रोपाइँको प्रतीक्षामा छन्। खेतमा धानको बीउ तयार भइसके पनि सिँचाइको व्यवस्था नहुँदा किसानहरू दैनिक आकाश हेर्दै फर्किन बाध्य भएका छन्।

चन्द्रपुर नगरपालिका–२ सखुवानीका किसान खुशबहादुर बम्जनको खेतमा रोपाइँका लागि आवश्यक तयारी पूरा भइसकेको छ। आलीघारी जोतखत गरिएको छ, बीउ ब्याडमा तयार छ, तर खेतमा पानी नहुँदा रोपाइँ सुरु हुन सकेको छैन। असार २७ गते बितिसक्दासमेत खेत सुक्खा रहँदा यस वर्ष पनि धान रोप्न नपाइने हो कि भन्ने चिन्ताले उनलाई सताएको छ।

गत वर्ष पनि समयमै वर्षा नहुँदा सिँचाइ अभावका कारण उनको खेत बाँझै रह्यो। यस वर्ष भने जसरी पनि रोपाइँ गर्ने योजना बनाए पनि आकाशे पानीकै भर पर्नुपरेपछि समस्या थपिएको किसानहरूको भनाइ छ।

‘रोपाइँका लागि सबै तयारी छ, तर पानीको व्यवस्था छैन। खेत पूरै सुक्खा छ, अब कहिले रोपाइँ गर्ने भन्ने अन्योल छ,’ किसानहरूको गुनासो छ।

सोही गाउँका किसान कुलदीप चौधरी पनि यस्तै समस्याबाट चिन्तित छन्। गत वर्ष रोपाइँ हुन नसकेको खेत यस वर्ष पनि बाँझै रहने अवस्था आउन सक्ने उनको चिन्ता छ। पर्याप्त वर्षा नहुँदा ब्याडमै धानको बीउ सुक्न थालेको किसानहरू बताउँछन्।

सिँचाइ सुविधा नहुनु र वर्षाको अनिश्चितताका कारण चन्द्रपुर क्षेत्रका किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत सयौँ किसान धानखेती प्रभावित हुने चिन्तामा छन्।

रौतहटमा धान रोपाइँका लागि करिब ३८ हजार ५०० हेक्टर जमिन योग्य मानिन्छ। तर पर्याप्त वर्षा नहुँदा हालसम्म ६ हजार १६० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ।

कार्यालयका अनुसार सामान्य अवस्थामा यो समयसम्म जिल्लामा ४५ देखि ५० प्रतिशतसम्म रोपाइँ भइसक्नुपर्ने हो। तर यस वर्ष वर्षा कम हुँदा करिब १६ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार मनसुन सक्रिय भएर निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिन सक्ने सम्भावना छ।

रौतहटमा बागमती सिँचाइ आयोजना र झाँझ सिँचाइ आयोजनाले केही क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउँदै आएका छन्। बागमती सिँचाइ आयोजनाबाट जिल्लाको करिब १३ हजार हेक्टर जमिन सिञ्चित भइरहेको छ भने झाँझ सिँचाइ आयोजनाबाट करिब चार हजार ५०० हेक्टर जमिनमा पानी पुग्ने गरेको छ।

बागमती सिँचाइ आयोजनाबाट चन्द्रपुर नगरपालिकाको केही क्षेत्रसहित वृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका केही भूभागमा सिँचाइ सुविधा पुगेको छ।

त्यस्तै झाँझ आयोजनाले गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकाका केही क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ।

यस बाहेक स्यालो ट्युबवेलबाट करिब २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको कृषि कार्यालयले जनाएको छ। तर त्यस्ता ट्युबवेलहरू तरकारी खेतीमा बढी प्रयोग हुने गरेका छन्।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत रहेको गण्डक नहरको पानी रौतहटसम्म ल्याउन सके थप चार वटा पालिकाका किसान लाभान्वित हुने बताइएको छ।

गण्डक नहरको पानी बौधीमाई, राजपुर, परोहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका खेतसम्म पुर्‍याउन सकिने भए पनि लामो समयदेखि नहरमा पानी सञ्चालन हुन सकेको छैन।

बौधीमाई नगरपालिकाको बङ्कुलदेखि दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म फैलिएको उक्त नहरको उचित सरसफाइ र व्यवस्थापन भए सिँचाइ विस्तार गर्न सकिने कृषि अधिकारीहरूको भनाइ छ।

रौतहटमा कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ। गत वर्ष जिल्लामा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो।

यस वर्ष भने वर्षा ढिलो हुँदा किसानहरू समयमै रोपाइँ गर्न नपाइने चिन्तामा छन्। सिँचाइको दीर्घकालीन व्यवस्था नहुँदा हरेक वर्ष किसानहरू मनसुनकै भरमा खेती गर्न बाध्य भइरहेका छन्।

किसानहरूले वर्षाको प्रतीक्षा गरिरहँदा कृषि उत्पादनमा असर नपरोस् भन्नका लागि वैकल्पिक सिँचाइ विस्तार र पुराना सिँचाइ संरचनाको मर्मत आवश्यक देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *