सदनमा बालेन
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन्। संसद्को बैठक जारी रहेकै बेला प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका हुन्।
प्रधानमन्त्रीको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि पछिल्ला केही दिनदेखि विपक्षी दलहरूले सरकारमाथि विभिन्न विषयमा निरन्तर प्रश्न उठाउँदै आएका छन्। विशेषगरी गत जेठ १७ गते प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार विरोध जनाइरहेका छन्।
त्यसैगरी, सुकुम्बासी व्यवस्थापन, सरकारको कार्यशैली, सुरक्षा संवेदनशीलता तथा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि संसद्मा सरकारको आलोचना भइरहेको छ। यी विषयमा सांसदहरूले सरकारसँग जवाफदेहिता माग गरिरहेका छन्।
प्रधानमन्त्री शाहको संसद् उपस्थितिपछि आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावना रहेको आकलन गरिएको छ। यद्यपि, प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीको सम्बोधन समावेश गरिएको छैन।
संसदीय अभ्यासअनुसार आवश्यक परे प्रधानमन्त्रीले विशेष वा आकस्मिक समय लिएर संसद्लाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेकाले उनी बैठकमा बोल्छन् वा बोल्दैनन् भन्ने विषयमा सांसदहरूको चासो बढेको छ।
