`

चीनको दुर्लभ खनिज नियन्त्रणले विश्व अर्थतन्त्रमा जोखिम

Nepal One HD १ साउन २०८३ १३:३६
विश्व

काठमाडौं। अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले दुर्लभ तथा महत्त्वपूर्ण खनिजको आपूर्तिमा अत्यधिक निर्भरता विश्व अर्थतन्त्रका लागि गम्भीर जोखिम बन्दै गएको चेतावनी दिएको छ।

निकायका अनुसार चीनले दुर्लभ खनिजको निर्यात नियन्त्रण पूर्ण रूपमा लागू गरे चीनबाहिर हुने वार्षिक ६५ खर्ब अमेरिकी डलर बराबरको औद्योगिक उत्पादन प्रभावित हुन सक्छ।

आईईएले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जोखिम न्यूनीकरण गर्न ११ प्रकारका महत्त्वपूर्ण खनिजको अन्तर्राष्ट्रिय रणनीतिक भण्डारण गर्न सुझाव दिएको छ। प्रतिवेदनअनुसार प्रारम्भिक रूपमा करिब ९.२ अर्ब अमेरिकी डलर लगानी र त्यसको वार्षिक व्यवस्थापनका लागि करिब ९० करोड अमेरिकी डलर खर्च आवश्यक पर्नेछ। सम्भावित आर्थिक क्षतिको तुलनामा यो लागत निकै कम रहेको प्रतिवेदनमा उल्लेख छ।

आईईएले चीन, प्रजातान्त्रिक गणतन्त्र कंगो र जिम्बाब्वे लगायतका देशहरूले लागू गरेका निर्यात नियन्त्रणले विश्व आपूर्ति श्रृंखलामा रहेको निर्भरता र असन्तुलनलाई थप उजागर गरेको जनाएको छ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार आधुनिक उद्योगका लागि अपरिहार्य बनेका यस्ता खनिजको आपूर्ति केही सीमित देशमा केन्द्रित भएकाले विश्व अर्थतन्त्र थप संवेदनशील बन्दै गएको छ। उनले आपूर्ति स्रोतको विविधीकरणलाई अतिरिक्त खर्च होइन, भविष्यको जोखिमविरुद्धको आवश्यक लगानीका रूपमा हेर्नुपर्ने बताएका छन्।

दुर्लभ खनिजहरू विद्युतीय सवारीसाधन, स्मार्टफोन, स्याटेलाइट, अर्धचालक (सेमिकन्डक्टर) तथा रक्षा उद्योगका अत्याधुनिक उपकरण निर्माणका लागि अत्यावश्यक मानिन्छन्। उत्पादन लागतमा यिनको हिस्सा कम भए पनि आपूर्ति अवरुद्ध हुँदा सम्पूर्ण उत्पादन प्रणाली नै प्रभावित हुन सक्ने प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनले पछिल्ला वर्षहरूमा आपूर्ति विविधीकरणतर्फ केही प्रगति भएको पनि जनाएको छ। अमेरिका र मलेसियामा दुर्लभ खनिज प्रशोधनमा भएको नयाँ लगानीका कारण विश्व प्रशोधन बजारमा चीनको हिस्सा ९० प्रतिशतबाट ८५ प्रतिशतमा झरेको छ। हाल निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न भए सन् २०३५ सम्म यो हिस्सा करिब ७० प्रतिशतमा झर्न सक्ने अनुमान गरिएको छ।

यद्यपि, निकेललगायत अन्य महत्त्वपूर्ण खनिजको प्रशोधनमा इन्डोनेसिया र चीनको प्रभाव अझै बलियो बन्दै गएको आईईएले जनाएको छ। प्रतिवेदनअनुसार प्रशोधित खनिजको विश्वव्यापी आपूर्ति वृद्धिको तीन-चौथाइभन्दा बढी हिस्सा यी दुई देशबाट आउने क्रम जारी छ।

आईईएको निष्कर्ष छ— विश्व अर्थतन्त्रलाई भविष्यमा आपूर्ति संकटबाट जोगाउन खनिज स्रोतको विविधीकरण, रणनीतिक भण्डारण र अन्तर्राष्ट्रिय सहकार्यलाई तीव्र बनाउनु अपरिहार्य भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *