बालेन पक्षबाट सुदीप ढकाललाई महामन्त्री बनाउने तयारी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मनोनीत महामन्त्री पदका लागि प्रधानमन्त्री बालेन शाह पक्षबाट सुदीप ढकालको नाम प्रमुख रूपमा अघि सारिएको छ।
पहिलो महाधिवेशनबाट १,४३९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका ढकाल हाल प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत छन्। बालेननिकट एक रास्वपा नेताका अनुसार महामन्त्री पदका लागि आफ्नो समूहले ढकालको नाम प्रस्ताव गरेको हो। महाधिवेशनका क्रममा पनि ढकाललाई केन्द्रीय सदस्यमा जिताउन बालेन पक्षका नेताहरू सक्रिय देखिएका थिए।
यसअघि बालेन पक्षबाटै महामन्त्री बनेका भूपदेव शाहलाई भने पुनः सोही जिम्मेवारीमा निरन्तरता दिने पक्षमा आफूहरू नरहेको बालेननिकट नेताहरूको दाबी छ। उनीहरूका अनुसार महामन्त्रीका रूपमा भूपदेवको भूमिका अपेक्षाअनुसार प्रभावकारी नभएकाले नयाँ अनुहार अघि सार्ने तयारी गरिएको हो।
‘महाधिवेशनमा हाम्रो समूहका उम्मेदवारलाई जिताउन भूपदेवको भूमिका प्रभावकारी देखिएन। प्रतिनिधि समायोजनका क्रममा पनि आवश्यक परामर्श भएन,’ बालेननिकट एक नेताले भने, ‘कविन्द्रजी संसद्को काममा व्यस्त हुँदा सङ्गठनको जिम्मेवारी उहाँकै काँधमा थियो। तर, सङ्गठन निर्माणमा अझ बढी सक्रियता आवश्यक देखियो।’
रास्वपाको केन्द्रीय समितिले गत वैशाख ७ गते भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको थियो।
रास्वपा विधानअनुसार सभापतिलाई ११ जना पदाधिकारी तथा ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार छ। तर, पार्टीभित्र मनोनयनको विषयमा आन्तरिक सहमति जुट्न नसक्दा हालसम्म ती पदहरू पूर्ण रूपमा पूर्ति हुन सकेका छैनन्।
पार्टी स्रोतका अनुसार मनोनीत हुने ५१ केन्द्रीय सदस्यमध्ये बालेन पक्षले १८ जनाको हिस्सा पाउने गरी आन्तरिक छलफल भइरहेको छ। बालेन पक्षले विशेषगरी सांसद नभएका नेताहरूलाई प्राथमिकतामा राख्ने तयारी गरेको बताइएको छ।
यता, पार्टी स्रोतले गृहमन्त्री सुधन गुरुङले पनि मनोनयन प्रक्रियामा आफ्नो पक्षको प्रतिनिधित्व खोजेको दाबी गरेको छ। स्रोतका अनुसार गुरुङले ‘जेनजी’ उमेर समूहबाट सात जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
यद्यपि, रास्वपाका एक शीर्ष नेताले भने गृहमन्त्री गुरुङले प्रत्यक्ष रूपमा भागबन्डा नमागेको, तर आफू निकट मानिने नेताहरूलाई केन्द्रीय सदस्यमा समेटिनुपर्ने धारणा राखेको बताएका छन्।
