`

दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साँढे २ करोड पठाइयो

Nepal One HD १ साउन २०८३ १७:१३
बिशेष

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ पुगेको खुलेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार विष्णु पौडेलसहित १४ जना व्यक्ति तथा कम्पनीविरुद्ध विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उक्त विवरण उल्लेख गरिएको हो। विभागका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

अभियोगपत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक दुई कम्पनीमा दीपक भट्टको कम्पनीबाट कुल २ करोड ६० लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ।

अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुन सक्ने देखिएकाले त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानुनबमोजिम कारबाही गरिनेछ।’

यसअघि विभागले असार २२ गते सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। विभागले बुढानीलकण्ठस्थित उनको निवासमा सूचना टाँस गरेको थियो।

त्यसपछि असार २३ गते गोरखापत्रमार्फत पनि म्यादभित्र उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। सूचनामा तोकिएको अवधिभित्र उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने उल्लेख थियो।

तर, विभागका अनुसार हालसम्म जयवीर देउवा अनुसन्धानका लागि उपस्थित भएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *