विष्णु पौडेलको रिहाईमा रास्वपा सांसद, ‘न्यायालय भएन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत न्यायालयबारे टिप्पणी गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। यस कर्मलाई जति ढिला गर्यो, त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ।’
न्यौपानेले पछिल्ला केही श्रृंखलाबद्ध घटनाक्रमले न्यायपालिका पुनर्संरचना नगरी सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको संकेत गरेको दाबी गरेका छन्। उनका अनुसार न्याय प्रणालीप्रति आम नागरिकको विश्वास कायम राख्न पनि व्यापक सुधार आवश्यक भइसकेको छ।
उनले राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै त्यसबिनाको सुधारबाट देश परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
‘राज्यका सबै निकायले परिवर्तनलाई आत्मसात् गर्न सक्नुपर्छ, त्यसपछि मात्रै देश परिवर्तन सम्भव छ। यो मेरो आवेगमा आएर व्यक्त गरेको धारणा होइन, गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।
