फेसबुकमा एमाले सचिव बस्नेत र कवि पराजुलीको जुहारी र काउन्टर
काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेत र कवि अर्जुन पराजुलीले सरकार र अदालतको भूमिकालाई लिएर कवितामा जुहारी चलेको छ। विष्णु पौडेल रिहाई भएकोमा आपत्ति जनाउँदै सरकारको बचाउ गर्दै कविता लेखेका पराजुलीलाई बस्नेतले अदालत कानुनले चल्छ भन्दै काउन्टर दिएका छन्।
एमाले सचिव बस्नेतले आफ्नो कवितामा सरकारको जिम्मेवारी अनुसन्धान र आरोप प्रस्तुत गर्ने तथा अदालतको जिम्मेवारी प्रमाण र कानुनका आधारमा न्याय सम्पादन गर्ने भएको उल्लेख गरेका छन्। उनले अदालतको निर्णयलाई सरकारसँगको प्रतिस्पर्धाका रूपमा नहेर्न आग्रह गर्दै सरकार र अदालत संविधानका दुई स्वतन्त्र आधार भएको बताएका छन्। बस्नेतले न्याय प्रमाणका आधारमा हुनुपर्ने र राजनीतिक प्रभावभन्दा कानुनी प्रक्रियाले नै जित्नुपर्ने सन्देश दिएका छन्।
यता कवि अर्जुन पराजुलीले व्यंग्यात्मक शैलीमा सरकार र अदालतबीच देखिएको अवस्थाको चित्रण गरेका छन्। उनले ‘सरकारले समाउँछ, अदालतले छोड्छ’ भन्ने पंक्तिलाई दोहोर्याउँदै पक्राउ र रिहाइको क्रमलाई व्यंग्य गरेका छन्। ‘नयाँ सरकार, पुरानो अदालत, कम्पिटिसन जोडका तोड छ’ भन्ने पंक्तिमार्फत उनले सरकार पक्राउ गर्न र अदालत रिहा गर्न निरन्तर लागिरहेको जस्तो सार्वजनिक धारणा झल्काएका छन्।
दुवै कविताले पछिल्ला न्यायिक निर्णय र राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा सरकार र अदालतको भूमिका तथा न्याय प्रणालीबारे सामाजिक सञ्जालमा बहस सिर्जना गरेका छन्।
