प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन
काठमाडौं । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले समृद्ध नेपालको आधारका रूपमा आगामी २०८७ सालभित्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप अधिकार र स्रोतसाधनसहित बलियो बनाउनुपर्ने, मन्त्रिपरिषद्को आकार १० सदस्यीयमा सीमित गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा सञ्चालन गर्नुपर्ने माग पनि अघि सारेका छन्।
यस्तै, नेपालमा सञ्चालनमा रहेका सबै बैंकको राष्ट्रियकरण गर्नुपर्ने, अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन अपराधीका लागि कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनमा सहभागी युवा अर्जुन विश्वकर्माले सुकुम्बासी, भूमिहीन किसान तथा जग्गाविहीन वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने बताए।
त्यसैगरी, हाल लागू रहेका शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गर्दै सिप, प्रविधि र व्यावहारिक शिक्षामा आधारित नयाँ पाठ्यक्रम लागू गर्नुपर्नेमा पनि प्रदर्शनकारीहरूले जोड दिएका छन्।
