विश्वकप फाइनलको मुखैमा अर्जेन्टिनाको पक्षमा किन खुले नेतान्याहू?
काठमाडाैं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्।
विश्वकप फाइनलअघि इजरायलका लागि अर्जेन्टिनाका राजदूत रब्बी शिमोन एक्सेल वाहनिशसँग भएको भेटमा नेतान्याहूले अर्जेन्टिनाप्रति आफ्नो समर्थन व्यक्त गरेका हुन्।
भेटका क्रममा राजदूत वाहनिशले अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीको सन्देश नेतान्याहूलाई सुनाएका थिए। त्यसको जवाफमा नेतान्याहूले माइलीलाई ‘सच्चा साथी’को संज्ञा दिँदै अर्जेन्टिनालाई विभिन्न क्षेत्रमा इजरायलको समर्थन रहने बताएका थिए।
‘जेभियर, तिमी साथी हौ। एक सच्चा साथी। तिमी एक महान् साथी हौ। हामी तिमीलाई समर्थन गर्छौं र अर्जेन्टिनालाई धेरै तरिकाले समर्थन गर्छौं। शुभकामना!’ नेतान्याहूले भनेका छन्।
नेतान्याहूले अधिकांश इजरायली नागरिक पनि विश्वकप फाइनलमा अर्जेन्टिनाकै पक्षमा रहेको दाबी गरेका छन्।
अर्जेन्टिना र स्पेनबीचको फाइनललाई विश्वभर उच्च चासोका साथ हेरिएको छ। सामाजिक सञ्जालमा पनि यस खेललाई लिएर व्यापक चर्चा भइरहेको छ। एकातिर लगातार अर्को विश्व उपाधिको लक्ष्यसहित अर्जेन्टिना मैदानमा उत्रँदैछ भने अर्कोतर्फ युवा स्टार लामिन यामालको नेतृत्वमा स्पेन नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ।
