तयारी पोसाक संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटवार्तामा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित उद्योग क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
छलफलमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उत्पादन र निर्यात विस्तार, उद्योगले सामना गरिरहेका चुनौती, रोजगारी सिर्जना तथा नीतिगत सुधारका विषयमा विस्तृत कुराकानी हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
सरकारले पछिल्लो समय निजी क्षेत्रसँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै विभिन्न उद्योगी–व्यवसायी र सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ। सो क्रममा उद्योगीहरूले लगानी वातावरण, व्यवसाय सञ्चालनका अवरोध, नीतिगत जटिलता तथा सुधारका आवश्यकताबारे आफ्ना धारणा सरकारसमक्ष राख्दै आएका छन्।
यस्ता छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट उठाइएका व्यावहारिक समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक निर्देशन दिँदै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
