`

जनदबाबपछि ३ प्रतिशत ‘समता कर’बाट बालेन सरकार ब्याक

Nepal One HD ५ साउन २०८३ १४:५२
भिडियो

काठमाडौं। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने घोषणा गरिएको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय सरकारले गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत नागरिकको गुनासो, बढ्दो आर्थिक भार र सार्वजनिक प्रतिक्रियालाई ध्यानमा राख्दै उक्त कर हालका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको हो। सरकारले सुरुमा दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यो करको व्यवस्था गरेको जनाएको छ।

प्रधानमन्त्रीले सरकारले ल्याएको नीतिको उद्देश्य विपन्न, दलित, सिमान्तकृत तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउनु, स्वास्थ्य बीमाको दायरा विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत व्यवस्थापन गर्नु रहेको स्पष्ट पारेका छन्। साथै करको दायरा विस्तार गरी अर्थतन्त्रलाई थप व्यवस्थित बनाउने लक्ष्य पनि राखिएको उनको भनाइ छ।

तर कर घोषणा भएपछि निजी विद्यालय, निजी अस्पताल, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाबाट व्यापक असन्तुष्टि व्यक्त भएको थियो। यसले शिक्षा र स्वास्थ्य सेवाको लागत बढ्ने तथा त्यसको प्रत्यक्ष भार सेवाग्राहीमाथि पर्ने चिन्ता सार्वजनिक रूपमा उठेको थियो।

प्रधानमन्त्री शाहले नागरिकको प्रतिक्रिया सरकारका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै जनताको भावना विपरीत कुनै पनि निर्णयलाई जस्ताको तस्तै लागू नगर्ने स्पष्ट पारेका छन्। उनका अनुसार सरकारले नागरिकको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने र आवश्यक परे नीति तथा कार्यक्रम संशोधन गर्न पनि तयार रहनेछ।

सरकारले समतामूलक समाज निर्माणप्रतिको प्रतिबद्धता भने यथावत् रहेको जनाएको छ। विपन्न तथा गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १० प्रतिशत शय्या (बेड) र निजी क्याम्पस तथा विश्वविद्यालयमा १० प्रतिशत सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गरिने प्रधानमन्त्रीले बताएका छन्।

उनको स्टाटस यस्तो छ :

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।
यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।
तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।
विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *