समर्थक लखेटिएपछि हर्क गएनन् जानकी मन्दिर
काठमाडौं। जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि पार्टी अध्यक्ष हर्क राई (साम्पाङ)ले मन्दिर दर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन्।
साम्पाङ जनकपुर पुग्नुअघि उनको स्वागतका लागि जानकी मन्दिर परिसरमा पुगेका श्रम संस्कृति पार्टीका नेता–कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले अवरोध गरेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। सम्भावित झडप रोक्न सुरक्षा निकायले मन्दिर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो।
स्थिति तनावपूर्ण बनेपछि साम्पाङले जानकी मन्दिर जाने कार्यक्रम रद्द गर्दै सोझै जनकपुरस्थित होटल क्राउन प्लाजातर्फ प्रस्थान गरेका थिए।
त्यहाँ उनले श्रम संस्कृति पार्टीको मधेस प्रदेश समितिद्वारा आयोजित साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता जनाएका छन्। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ता तथा नयाँ सदस्यहरूको उपस्थिति रहेको थियो।
पार्टीका अनुसार कार्यक्रममा संगठन विस्तार, मधेस प्रदेशमा पार्टीको गतिविधि सुदृढ गर्ने योजना, आगामी राजनीतिक रणनीति तथा नयाँ सदस्य परिचालनका विषयमा छलफल गरिएको छ। साथै विभिन्न व्यक्तिहरूलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम पनि राखिएको थियो।
यसअघि हिन्दु सम्राट सेनाले हर्क साम्पाङका विगतका केही सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै जानकी मन्दिर प्रवेशको विरोध गर्ने चेतावनी दिएको थियो। त्यसैको प्रभावस्वरूप मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
प्रशासनले जनकपुरको समग्र सुरक्षा अवस्थालाई नियन्त्रणमा राखेको जनाएको छ भने हालसम्म कुनै ठूलो अप्रिय घटना नभएको जानकारी दिएको छ।
