`

आरेन राईको पुरानो अभिव्यक्तिबारे हर्कको बचाउ

Nepal One HD ६ साउन २०८३ १३:४४
राजनीति

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना पार्टीका सांसद आरेन राईको विगतको विवादित अभिव्यक्तिलाई लिएर भइरहेका आलोचनाप्रति पहिलोपटक विस्तृत धारणा सार्वजनिक गरेका छन्। उनले मानिस समयसँगै परिवर्तन हुने भएकाले पुरानो भनाइलाई मात्रै आधार बनाएर कसैलाई सधैँ दोषी ठहर गर्न नहुने बताएका छन्।

जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले राई पहिले फरक राजनीतिक संगठनमा आबद्ध रहेकाले त्यतिबेलाको वैचारिक प्रभावअनुसार अभिव्यक्ति दिएको हुन सक्ने बताए। अहिले भने उनी फरक सोच र राजनीतिक संस्कृतिमा अघि बढिरहेको उनको दाबी छ।

साम्पाङका अनुसार मानिसको व्यवहार र विचार उसले पाएको वातावरण र संगतले निर्धारण गर्ने भएकाले विगतको गल्ती स्वीकार गरेर अघि बढ्न खोज्ने व्यक्तिलाई सुधारको अवसर दिनुपर्छ।

उनले सांसद राईले संसदमै उभिएर आफ्नो पुरानो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी मागिसकेको स्मरण गराउँदै त्यसपछि पनि निरन्तर पुरानै विषय उठाएर आलोचना गर्नु उचित नहुने बताए।

‘मानिसको सोच स्थायी हुँदैन। जसरी वातावरण बदलिँदा भाषा र व्यवहार परिवर्तन हुन्छ, त्यसरी नै राजनीतिक चेतना पनि बदलिन सक्छ,’ साम्पाङले भने।

उनले अहिले राई श्रम संस्कृति पार्टीको विचार र नीतिअनुसार अघि बढिरहेको दाबी गर्दै विगतको एउटा अभिव्यक्तिका आधारमा पार्टीमाथि प्रश्न उठाउनु न्यायोचित नहुने बताए।

साम्पाङ जनकपुर पुगेका बेला जानकी मन्दिर प्रवेश गर्न खोज्दा केही युवाले राईको पुरानो अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए। त्यसपछि आयोजित कार्यक्रममा उनले यो विषयमा प्रष्टिकरण दिएका हुन्।

आरेन राई खोटाङ–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। श्रम संस्कृति पार्टीमा आउनुअघि उनी केही वर्ष मंगोल नेसनल अर्गनाइजेसनमा सक्रिय थिए।

त्यही अवधिमा दिएको ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण उनी लामो समयदेखि विवादमा पर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *