चक्रे मिलनको राजनीतिक ‘यू-टर्न’ : राजावादी अभियानमा खुलेरै देखिए
काठमाडौं। एक समय नेकपा एमालेको चुनाव चिह्न बोकेर प्रतिनिधिसभाको निर्वाचन लडेका मिलन गुरुङ ‘चक्रे मिलन’ अहिले राजावादी अभियानमा खुलेर देखिएका छन्।
‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ अभियानमा हस्ताक्षर गरेको उनको तस्बिर सार्वजनिक भएपछि उनको राजनीतिक यात्राले फेरि बहस सिर्जना गरेको हो।
गत निर्वाचनमा एमालेले गोरखा-२ बाट उम्मेदवार बनाएका चक्रे मिलन अहिले गणतन्त्रको विकल्प खोज्ने अभियानमा उभिनुले केवल व्यक्तिगत धारणा परिवर्तन मात्र होइन, पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा देखिएको अस्थिर राजनीतिक निष्ठाको अर्को उदाहरणका रूपमा पनि हेरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा चक्रे मिलन राजतन्त्र पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिरहेको देखिन्छ। तस्बिरसँगै ‘राजाको पक्षमा हस्ताक्षर गर्दै मिलन गुरुङ (चक्रे) काका’ भन्ने टिप्पणी पनि व्यापक रूपमा साझा भइरहेको छ।
यसअघि एमालेको टिकटबाट चुनाव लडिसकेका व्यक्तिको यस्तो सार्वजनिक उपस्थितिले एमालेसँग उनको वर्तमान सम्बन्ध, राजसंस्थाप्रतिको उनको नयाँ राजनीतिक दृष्टिकोण र आगामी राजनीतिक भूमिकाबारे प्रश्न उठाएको छ।
चक्रे मिलनको नाम लामो समयदेखि आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको छ। उनीमाथि केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, लागुऔषध, अभद्र व्यवहार तथा गुण्डागर्दीसँग सम्बन्धित विभिन्न मुद्दा चलेका थिए। यिनै विवादका बीच एमालेले उनलाई उम्मेदवार बनाएपछि त्यसबेला पनि व्यापक आलोचना भएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकाटीसँग पराजित भएका थिए।
निर्वाचनमा पराजयपछि सक्रिय पार्टी राजनीतिमा खासै नदेखिएका चक्रे मिलन अहिले भने राजावादी अभियानमा खुलेर उभिएको दृश्य सार्वजनिक भएको छ। यसले पछिल्ला दिनमा पूर्वराजा समर्थक अभियानमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू जोडिने क्रम बढिरहेको संकेतसमेत गरेको छ।
यद्यपि चक्रे मिलनले एमाले परित्याग गरेको वा औपचारिक रूपमा कुनै राजावादी दलमा आबद्ध भएको सार्वजनिक जानकारी भने हालसम्म आएको छैन।
