कांग्रेसमा बढ्दो विवादबीच गगन–शेखर भेट, के भयो कुरा ?
काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
बिहिवार बिहान सभापति थापा टोखास्थित कोइराला निवास पुगेर दुई नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।
स्रोतका अनुसार भेटमा कांग्रेसभित्र देखिएको ध्रुवीकरण, सम्भावित विभाजनको जोखिम तथा सहमतिका आधारमा पार्टीलाई अघि बढाउने विषयमा कुराकानी भएको छ। दुई नेताबीचको छलफल केही समयसम्म जारी रहेको बताइएको छ।
यसअघि बुधबार कांग्रेसको इतर समूहले बीपी स्मृति दिवसको अवसर पारेर साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको थियो। इतर समूहका नेताहरूले उक्त भेलालाई पार्टीको आगामी राजनीतिक दिशासँग जोडेर हेरेका छन्।
इतर समूहले १५औँ महाधिवेशनलाई एकतामूलक बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए पनि पार्टी नेतृत्व व्यक्तिकेन्द्रित ढंगले अघि बढेको आरोप लगाउँदै आएको छ। बीपी स्मृति दिवसका कार्यक्रममा डा. शेखर कोइरालासहितका नेताहरूले पार्टी एकताको आवश्यकता दोहोर्याउँदै विभाजनको अवस्था आए त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
यही पृष्ठभूमिमा भएको गगन–शेखर भेटलाई कांग्रेसभित्र बढ्दो मतभेद समाधान गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि, भेटबारे दुवै नेताको सचिवालयले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
