`

प्रचण्डले गरे कम्युनिस्ट एकताबाट राष्ट्रिय नेतृत्वको आह्वान

Nepal One HD ९ साउन २०८३ १०:४९
बिशेष

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित कम्युनिस्ट शक्तिलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कर्मचार्यलाई वर्गसंघर्ष, विचार र क्रान्तिप्रति जीवनभर इमानदार, निष्ठावान र सरल व्यक्तित्वका रूपमा स्मरण गरे।

उनले जनयुद्धको तयारीका क्रममा करिब छ वर्ष कर्मचार्यको संरक्षणमा बसेको अनुभव सुनाउँदै त्यस अवधिमा रणनीति र तयारीबारे नियमित छलफल हुने गरेको बताए। जनयुद्धसम्बन्धी आफ्ना योजना कर्मचार्यसँग साझा गर्ने र उहाँबाट आवश्यक सुझाव लिने गरेको प्रचण्डको भनाइ थियो।

प्रचण्डका अनुसार कर्मचार्य सधैँ कम्युनिस्ट आन्दोलनको एकताका पक्षमा दृढ थिए। एकता केन्द्र गठन हुँदा उनी अत्यन्त खुसी भए पनि पछि आन्दोलन विभाजित हुँदा गहिरो दुःखी बनेका थिए। उनले कर्मचार्यले आफूलाई मनपर्ने नेताका रूपमा ‘प्रचण्ड’ भनेको प्रसंग उल्लेख गर्दै त्यसमा विचार र विश्वासको गहिरो अर्थ रहेको बताए।

उनले नेपालका प्रथम कम्युनिस्ट महासचिव पुष्पलाल श्रेष्ठका विचारलाई इतिहासले सही साबित गरिसकेको दाबी गर्दै अहिले कम्युनिस्ट आन्दोलनभित्र पुष्पलालप्रति कुनै असहमति नरहेको उल्लेख गरे।

प्रचण्डले नरबहादुर कर्मचार्य अन्तिम समयसम्म पनि क्रान्तिकारी धारमै अडिग रहेको स्मरण गर्दै वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलनले ठूलो धक्का व्यहोरेको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *