`

‘सुनसरी घटनामा सरकार गम्भीर बनोस्, धार्मिक सद्भाव जोगाऔँ’

Nepal One HD १३ साउन २०८३ १०:३९
बिशेष

काठमाडौं। सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक संवेदनशीलता, सामाजिक सद्भाव र राज्यको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्।

बैठकमा धारणा राख्दै लिङ्देनले तराई-मधेस क्षेत्रमा हिन्दु समुदायका चाडपर्व, धार्मिक उत्सव तथा अनुष्ठानका क्रममा पटक-पटक तनाव सिर्जना हुने गरेको दाबी गरे। यस्ता घटना आकस्मिक नभई योजनाबद्ध रूपमा भइरहेको आरोप लगाउँदै उनले राज्यको उदासीनताले समस्या झन् जटिल बन्दै गएको बताए। उनका अनुसार कप्तानगन्जमा देखिएको पछिल्लो घटना पनि त्यही शृंखलाको परिणाम हो।

उनले घटनालाई सामान्य सुरक्षा समस्याका रूपमा मात्र नहेरी यसको मूल कारणसम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे। भुसको आगोसरी फैलिन सक्ने संवेदनशील अवस्थालाई ध्यानमा राख्दै तत्काल उच्चस्तरीय आयोग गठन गरी सबै पक्षसँग संवाद सुरु गर्नुपर्ने उनको भनाइ थियो।

लिङ्देनले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक कार्यक्रमका क्रममा ध्वनि नियन्त्रणसम्बन्धी जारी गरेको सूचनाप्रति पनि असन्तुष्टि व्यक्त गरे। पुराण, सप्ताह तथा अन्य हिन्दु धार्मिक अनुष्ठानमा चर्को आवाज प्रयोग गर्न रोक लगाइएको तर अन्य धार्मिक गतिविधिमा समान मापदण्ड लागू नभएको आरोप लगाउँदै उनले यस्तो नीति विभेदकारी र अपरिपक्व भएको टिप्पणी गरे। राज्यका निकायले सबै धर्म र समुदायप्रति समान व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।

उनले सुनसरी घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग माग गरे। साथै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ थियो।

लिङ्देनले नेपालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास जोगाउनु सबै राजनीतिक दल, सरकार र नागरिकको साझा दायित्व भएको उल्लेख गरे। संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको सम्मान गर्दै प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति, संस्कार र परम्परा निर्भयपूर्वक अभ्यास गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

उनले अन्त्यमा वर्तमान परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउँदै सदियौँदेखि कायम रहेको नेपाली समाजको एकता, शान्ति र भाइचारालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *