सुनसरी घटना : अवस्था सामान्य बन्दै, छानबिन तीव्र
काठमाडौं। सुनसरीको देवानगञ्ज-३, कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि सुरु भएको हिंसात्मक घटनापछि बुधबारसम्म आइपुग्दा अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरकारी निकायहरूले छानबिनलाई तीव्र बनाएका छन्।
घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति गठन गरेको छ। उक्त समितिसँगै जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालयको टोली बुधबार घटनास्थल पुगेर तथ्य संकलनमा जुटेको छ। टोलीले मृतकका परिवार, घाइते, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग भेटघाट गरी घटनासम्बन्धी विवरण संकलन गरिरहेको छ।
स्थानीय बासिन्दाले छानबिन टोलीसमक्ष केही व्यक्तिले लामो समयदेखि समुदायमा दबाब र थिचोमिचो गर्ने गरेको तथा गाई काटिएका घटनामा प्रभावकारी कानुनी कारबाही नभएको गुनासो गरेका छन्। उनीहरूले पछिल्लो घटनाका मुख्य अभियुक्त तथा गोली चलाउने प्रहरीको भूमिकामाथि पनि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले पीडित परिवारसँग छलफल गर्दै अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। उनले घटनामा संलग्न जो–कोही भए पनि कानुनी दायरामा ल्याइने र निष्पक्ष अनुसन्धानका आधारमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासनका अनुसार घटनापछि संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन बढाइएको छ भने समुदायबीच संवाद र समन्वयमार्फत अवस्था पूर्ण रूपमा सामान्य बनाउने प्रयास जारी रहेको छ।
घटनापछि राजनीतिक तहमा पनि सक्रियता बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा केन्द्रमा सर्वदलीय बैठक बस्यो। कोशी प्रदेश सरकारले पनि सर्वदलीय बैठक आह्वान गरेको छ। सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्भाव कायम राख्न, अफवाह फैलिन नदिन, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
हालसम्म प्रशासनले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। घटनाको कारण, जिम्मेवार पक्ष र कानुनी उत्तरदायित्वबारे अन्तिम निष्कर्ष भने छानबिन प्रतिवेदनपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।
