कहाँ-कहाँ कर्फ्यु ?
सिरहा। सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ भने गोलबजारमा लगाइएको कर्फ्यु भने यथावत् राखिएको छ।
सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव नियन्त्रण गर्न प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरेको थियो।
सुनसरीमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यसको विरोधमा गोलबजारमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो।
गणेशको परिवारसँग सरकारले ८ बुँदे सहमति गरिसकेको भए पनि गोलबजारको अवस्था अझै संवेदनशील रहेको भन्दै प्रशासनले कर्फ्यु हटाएको छैन।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको शव गोलबजार ल्याएर अन्त्येष्टि प्रक्रिया अघि नबढाएसम्म कर्फ्यु हटाइने छैन। सहमतिअनुसार गणेशको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।
यसैबीच, धनुषाको जनकपुरधाममा पनि कर्फ्यु हटाइएको छ। प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ।
जनकपुरधाममा पछिल्लो समय अवस्था तनावग्रस्त बनेपछि गत बिहीबार दिउँसो ३ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुटेलका अनुसार आज बिहान १० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको हो।
सुनसरीको घटनापछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न कर्फ्यु आदेश जारी गरेको थियो।
जनकपुरधाममा सद्भाव र्याली सम्पन्न भएपछि अवस्था केही सामान्य बनेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
यसअघि सुनसरी र सिरहाको लहानमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियो।
यद्यपि, सिरहाको गोलबजारमा भने गणेश यादवको अन्त्येष्टि र स्थानीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कर्फ्यु कायमै राखिएको छ।
