अन्तत: यसरी खुल्यो बीपी राजमार्ग
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
स्थानीय सुकुम्बासी तथा अव्यवस्थित बसोवासी र प्रशासनबीच मौखिक सहमति भएपछि शनिबार बिहानदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
वन क्षेत्रको बस्ती खाली गराउने विषयमा स्थानीय र वन प्रशासनबीच उत्पन्न विवादपछि कालापानीका बासिन्दा आन्दोलित भएका हुन्। गत जेठ ११ गते वन प्रशासनसँग भएको विवादका क्रममा स्थानीयमाथि मुद्दा चलाइएको भन्दै उनीहरूले विरोध जनाउँदै आएका थिए।
जेठ ११ गते वन क्षेत्रको बस्ती खाली गराउन सूचना दिन वन कर्मचारी कालापानी पुगेपछि स्थानीयले उनीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए। त्यस क्रममा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनीसमेत भएको थियो।
घटनापछि स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच घटनाको जिम्मेवारी सरकारले लिने, घाइतेको उपचार राज्यले गर्ने तथा घटनामा संलग्न कसैलाई मुद्दा चलाएर धरपकड नगर्ने सहमति भएको स्थानीयको दाबी थियो। तर, प्रहरीले घटनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुनः आक्रोशित बनेका थिए।
घटनामा चार जनामाथि झुटा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले उनीहरू निर्दोष रहेको दाबी गर्दै तीन दिनभित्र मुद्दा फिर्ता लिन प्रशासनलाई अल्टिमेटम दिएको थियो।
शुक्रबार अल्टिमेटम सकिएपछि स्थानीय सुकुम्बासी तथा अव्यवस्थित बसोवासी शनिबार बिहानैदेखि बीपी राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए। राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभावित भएको थियो।
स्थिति थप जटिल बन्न नदिन प्रमुख जिल्ला अधिकारी यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगर कालापानी पुगेका थिए। आन्दोलनरत पक्षसँग छलफल र समन्वय गरेपछि मौखिक सहमति जुटेको र त्यसपछि राजमार्ग खोलिएको प्रशासनले जनाएको छ।
