इरानसँग सम्झौता भए हमला नगर्ने ?
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कूटनीतिक सहमति बने सैन्य कारबाही अघि नबढाउने संकेत गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत इरानसँग तीव्र गतिमा सम्झौता भए प्रस्तावित सैन्य आक्रमण रोक्ने निर्णय गरेको बताएका हुन्।
ट्रम्पका अनुसार सम्भावित सम्झौताको मुख्य आधार इरानको परमाणु कार्यक्रमबाट उत्पन्न भएको अमेरिकी चिन्ता अन्त्य गर्नु र रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूमध्य खुला राख्नु हुनेछ। उनले यी विषयमा सहमति बने इरानमाथिको सैन्य कारबाही तत्काल रोक्न सकिने बताएका छन्।
ट्रम्पले यस्तो निर्णय इजरायलसँगको परामर्श र सहमतिपछि लिइएको दाबी गरेका छन्। अमेरिकी सञ्चारमाध्यमले पछिल्ला दिनमा अमेरिका इरानविरुद्ध ठूलो सैन्य कारबाहीको तयारीमा रहेको समाचार सार्वजनिक गरिरहेका बेला उनको पछिल्लो घोषणा आएको हो।
ट्रम्पले अमेरिका इरानविरुद्ध सैन्य कारबाहीका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन्। उनले दोस्रो विश्वयुद्धपछि अमेरिकाले देखाएको सैन्य शक्तिमध्ये आफूहरू अहिले अत्यन्त शक्तिशाली अवस्थामा रहेको बताएका छन्।
तर, अर्कोतर्फ इरान तथा मध्यपूर्वका केही मुलुकबाट कूटनीतिक समाधानका लागि समय दिन आग्रह आएपछि आफूले तत्काल आक्रमण नगर्ने निर्णय गरेको ट्रम्पको भनाइ छ।
ट्रम्पले सम्भावित सम्झौताका केही मुख्य विषयमा सहमति भइसकेको दाबीसमेत गरेका छन्। विशेषगरी हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला राख्ने र इरानको परमाणु गतिविधिबाट उत्पन्न जोखिम अन्त्य गर्ने विषय सम्झौताको केन्द्रमा रहेको उनको भनाइ छ।
हर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो। खाडी क्षेत्रबाट विश्व बजारतर्फ जाने ठूलो परिमाणको तेल तथा अन्य ऊर्जा पदार्थ यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको सुरक्षा र खुलापन अन्तर्राष्ट्रिय अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ।
यस क्षेत्रमा सैन्य तनाव बढ्दा तेल आपूर्ति, ढुवानी लागत र विश्व बजारमा ऊर्जाको मूल्यमा समेत असर पर्न सक्ने चिन्ता रहन्छ। त्यसैले ट्रम्पले प्रस्तावित सम्झौतामा हर्मुजलाई विशेष प्राथमिकता दिएका हुन्।
ट्रम्पको घोषणाप्रति इरानले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। अमेरिका र इरानबीच परमाणु कार्यक्रम, क्षेत्रीय सुरक्षा तथा सैन्य गतिविधिलाई लिएर लामो समयदेखि तनाव रहँदै आएको छ।
ट्रम्पको पछिल्लो प्रस्तावले एकातिर सैन्य दबाब कायम राख्ने र अर्कोतिर वार्तामार्फत समाधान खोज्ने अमेरिकी रणनीति देखाएको छ। तर, इरानले अमेरिकी सर्त स्वीकार गर्छ वा वार्ताको बाटो रोज्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
यसैबीच अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। क्षेत्रमा तनाव थप बढ्न सक्ने भन्दै सम्भावित उडान रद्द, हवाई क्षेत्र बन्द तथा यात्रामा आउन सक्ने अवरोधका लागि तयार रहन अमेरिकी नागरिकलाई भनिएको छ।
सरकारले आवश्यक परे जुनसुकै बेला क्षेत्र छाड्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसअनुसार तयारी अवस्थामा रहनसमेत सुझाव दिएको छ।
