चितवनमा दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी
चितवन । चितवन जिल्ला अदालतमा दुई वर्ष माथिका ६६ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये दुई हजार ५९० मुद्दा फैसला हुन बाँकी रहेकामा दुई वर्ष माथिका सो सङ्ख्यामा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।
अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार ८४० मुद्दा दर्ता भएका थिए । आव २०८१/८२ मा जिम्मेवारी सरी आएका एक हजार ८५९ वटा मुद्दासहित गत आवमा पाँच हजार ६९९ वटा मुद्दा रहेका थिए । सोमध्ये तीन हजार १०९ वटा फछ्र्यौट भएका थिए ।
अहिले दर्ता भई फैसला हुन बाँकी रहेका मुद्दामा १८ महिनादेखि दुई वर्षसम्मका २३६, १२ महिनादेखि १८ महिनासम्मका ४५६, छ महिनादेखि १२ महिनासम्मका ५९२ र छ महिनाभित्रका एक हजार २४० वटा मुद्दा रहेका छन् । समग्रमा जिल्ला अदालतबाट ५४ दशमलव ५५ प्रतिशत मुद्दाको फैसला भएको छ ।
भदौ अन्तिम साता, असोज, कात्तिक र मङ्सिर महिना अदालतको कामकारबाही प्रभावित हुँदा गत वर्ष चितवन जिल्ला अदालतको मुद्दा फछ्र्यौटको अवस्था विगतका वर्षकोभन्दा कम भएको हो । पुराना मुद्दा फछ्र्यौटमा कमी मात्र नभई नयाँ मुद्दा दर्ता पनि कमी आएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
चितवन जिल्ला अदालतमा गत आव २०८२/८३ मा अनुमान गरेभन्दा कम मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता सङ्ख्या कम हुँदा अदालतको मुद्दा फछ्र्यौट दर पनि अघिल्लो वर्षकोभन्दा केही घटेको छ ।
६५ प्रतिशत फछ्र्यौट लक्ष्य भएकामा जम्मा ५४.५५ प्रतिशत मात्र फछ्र्यौट भएको सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । आव सुरू भएसँगै अदालतले चार हजार ८५२ थान मुद्दा दर्ता हुने अनुमान गरेको थियो । हरेक आवको सुरूआतमा अदालतले चालु आवको मुद्दा सङ्ख्या अनुमान गर्ने गर्दछ ।
