`

रोनाल्डो-जर्जिनाको विवाहको चर्चा

Nepal One HD १८ साउन २०८३ १२:४५
खेलकुद

काठमाडौं। प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजबीच आगामी ८ अगस्टमा विवाह हुने चर्चा चुलिएको छ। पोर्चुगिज सञ्चारमाध्यमहरूले उनीहरूको विवाह समारोह रोनाल्डोको जन्मस्थल मडेरास्थित फन्चल क्याथेड्रलमा हुने दाबी गरेका छन्।

समारोहका लागि फन्चलस्थित सभोय प्यालेस होटल पनि बुक गरिएको समाचार सार्वजनिक भएका छन्। बेलायती सञ्चारमाध्यम डेली मेलले समेत रोनाल्डो र जर्जिना आगामी साता विवाह बन्धनमा बाँधिने तयारीमा रहेको जनाएको छ।

यद्यपि, विवाहको मिति, स्थान वा समारोहबारे रोनाल्डो र जर्जिनाले अहिलेसम्म आधिकारिक रूपमा कुनै घोषणा गरेका छैनन्। त्यसैले सार्वजनिक भएका विवरणलाई हालसम्म सञ्चारमाध्यममा आएका दाबीका रूपमा मात्र हेरिएको छ।

रोनाल्डोको जन्म तथा बाल्यकाल मडेरामै बितेकाले त्यहीँ विवाह गर्ने चर्चा विशेष चासोको विषय बनेको छ। उनको क्याथोलिक धार्मिक पृष्ठभूमिका कारण फन्चल क्याथेड्रलमा विवाह हुने सम्भावनालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।

रोनाल्डो र जर्जिनाको सम्भावित विवाहलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पछिल्लो समय चर्चित सेलिब्रिटी जोडी टेलर स्विफ्ट र ट्राभिस केल्सेको विवाहसँग समेत तुलना गरेका छन्।

तर रोनाल्डो–जर्जिनाको समारोह तुलनात्मक रूपमा निजी र पारिवारिक हुने अनुमान गरिएको छ। विवाहमा सहभागी हुने अतिथि, समारोहको स्वरूप र सुरक्षा तथा गोपनीयताको व्यवस्थाबारे भने अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *