‘राष्ट्रियता र सीमा सुरक्षामा सरकार किन मौन?’
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियता, सीमा सुरक्षा तथा जनजीविकाका विषयमा सरकार र प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद बलावती शर्माले प्रधानमन्त्री शाह देशका गम्भीर समस्याप्रति उदासीन रहेको आरोप लगाइन्। उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा बढी केन्द्रित भएको तर जनताका जल्दाबल्दा समस्या समाधानमा प्रभावकारी भूमिका नदेखिएको बताइन्।
शर्माले प्रधानमन्त्री शाहले केही समयअघि संसद्को रोस्टमबाट ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा पुनः आपत्ति जनाइन्।
उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म तथा भनाइ संसद्को अभिलेखबाट नहटाइएसम्म आफ्नो पार्टीको विरोध जारी रहने बताइन्। राष्ट्रियताजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको भनाइ थियो।
शर्माले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको अस्थायी माटोको बाँध भत्काएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।
प्रधानमन्त्रीको कार्यशैली कमजोर रहेको र विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्तिलाई थप प्रोत्साहन गरेको उनले आरोप लगाइन्। कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा देखिएको सीमा विवादबारे पनि सरकारले स्पष्ट धारणा राख्नुपर्ने उनको माग थियो।
यसैगरी, सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनाव नियन्त्रणमा सरकारले ढिलाइ गरेको शर्माले बताइन्।
घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनले घटनाको सत्यतथ्य छानबिनका लागि विश्वसनीय तथा निष्पक्ष आयोग गठन गर्न सरकारसँग आग्रह गरिन्।
