`

गाजामा फेरि इजरायली बमबारी, कसलाई पर्छ भारी ?

Nepal One HD १९ साउन २०८३ १६:३४
बिशेष

काठमाडौं । गाजापट्टीमा युद्धविराम कायम राख्ने प्रयास भइरहेका बेला इजरायलले जारी राखेको सैन्य कारबाहीप्रति युद्धविराम वार्ताका मध्यस्थकर्ता राष्ट्रहरूले कडा आपत्ति जनाएका छन्।

कतार, इजिप्ट र टर्कीले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामा भइरहेको इजरायली आक्रमण र युद्धविराम उल्लङ्घनको प्रवृत्तिले सम्झौताको दोस्रो चरण कार्यान्वयन गर्ने प्रयासलाई कमजोर बनाएको बताएका छन्।

मध्यस्थकर्ता राष्ट्रहरूले गाजामा जारी आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई समेत कमजोर बनाइरहेको बताएका छन्। उनीहरूले युद्धविराम सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।कतार, इजिप्ट र टर्कीले स्वास्थ्य सेवा सुविधा तथा चिकित्सा पूर्वाधारलाई लक्षित गरी भइरहेको आक्रमणप्रति विशेष चिन्ता व्यक्त गरेका छन्।

यस्ता आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुने क्रम बढेको भन्दै उनीहरूले अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न इजरायललाई आग्रह गरेका छन्।

मध्यस्थकर्ताहरूले नागरिक, चिकित्सा संस्था र मानवीय सहायता क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन्। गाजामा मानवीय सहायता तथा औषधि र अन्य आवश्यक चिकित्सा सामग्री कुनै अवरोधबिना पुग्ने वातावरण बनाउन पनि उनीहरूले आग्रह गरेका छन्।

उनीहरूले इजरायललाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका दायित्व पूरा गर्न र युद्धविराम सम्झौतामा गरिएका प्रतिबद्धता कायम राख्न आग्रह गरेका छन्।

मध्यस्थकर्ता राष्ट्रहरूले युद्धविराम सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

उनीहरूको भनाइमा सम्झौता कागजमा मात्र सीमित राखेर गाजामा आक्रमण जारी रहेमा द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासको उद्देश्य पूरा हुन सक्दैन।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार सप्ताहन्तमा गाजामा भएका इजरायली आक्रमणमा बालबालिका र अन्य नागरिकसहित दर्जनौँ मानिसको मृत्यु भएको छ।

गाजाको नागरिक रक्षा निकायका प्रवक्ता महमुद बासलले इजरायली ड्रोन तथा हेलिकप्टरले गाजाका विभिन्न क्षेत्रमा आक्रमण गरेको बताएका छन्।

उनका अनुसार उत्तरीदेखि दक्षिणी गाजासम्म आवासीय भवन, विस्थापितहरूका शिविर, नागरिक सवारीसाधन तथा मानिसहरू भेला भएका स्थानलाई लक्षित गरी १० भन्दा बढी हवाई आक्रमण भएका छन्।

यसैबीच हमासले युद्धविराम सम्झौताका मध्यस्थकर्ता राष्ट्र तथा अन्य सहयोगी पक्षलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ।

हमासले प्यालेस्टिनी नागरिकमाथि भइरहेको इजरायली आक्रमणको निन्दा गर्दै सम्झौताअनुसार इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन तत्काल कदम चाल्न आग्रह गरेको छ।

प्यालेस्टिनी अधिकारीहरूले पनि इजरायलले युद्धविराम कार्यान्वयनलाई कमजोर बनाएको आरोप लगाएका छन्।

प्यालेस्टिनी राष्ट्रपतिका प्रवक्ता नाबिल अबु रुदिनेहले युद्धविराम सम्झौता कार्यान्वयन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

उनका अनुसार युद्धविरामसम्बन्धी सहमति भए पनि प्यालेस्टिनी भूमिमा आक्रमण जारी रहनु गम्भीर चिन्ताको विषय हो।

प्यालेस्टाइन मुक्ति संगठनको कार्यकारी समितिका सदस्य अहमद मजदलानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राजनीतिक प्रगतिको बाटोमा अवरोध खडा गरेको र गाजाबाट इजरायली सेना फिर्ता गर्ने विषयमा ढिलाइ गरेको आरोप लगाएका छन्।

गाजामा युद्धविराम कायम राख्ने प्रयाससँगै युद्धपछि गाजाको राजनीतिक तथा सुरक्षा संरचना कस्तो हुने भन्ने विषयमा पनि कूटनीतिक गतिविधि बढेको छ।

‘शान्ति बोर्ड’ का अनुसार गाजाका लागि उच्च प्रतिनिधि निकोले म्लादेनोभले इजरायली प्रधानमन्त्री नेतान्याहुसँग भेटवार्ता गरेका छन्।

भेटमा हमासको निःशस्त्रीकरण र गाजालाई सैन्य नियन्त्रणबाट नागरिक शासनतर्फ लैजाने प्रस्तावित व्यवस्थाबारे छलफल भएको जनाइएको छ।

बोर्डले बैठकलाई रचनात्मक र विस्तृत छलफलका रूपमा वर्णन गर्दै दुवै पक्षले हतियार त्याग र गाजामा नागरिक शासनतर्फको संक्रमणका विषयमा अन्तिम समझदारीतर्फ अघि बढ्ने सहमति गरेको जनाएको छ।

प्रस्तावित सम्झौताको कार्यान्वयन अन्तर्राष्ट्रिय स्थिरीकरण बल र कार्यान्वयन प्रमाणीकरण समितिले अनुगमन गर्ने बताइएको छ। त्यसमा अमेरिका र ‘शान्ति बोर्ड’ का प्रतिनिधिको सहभागिता रहनेछ।

बोर्डका अनुसार सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने वा नहुने कुरा सहमतिको ढाँचाअन्तर्गत सम्बन्धित सबै पक्षले आफ्ना दायित्व पूरा गर्नेमा निर्भर हुनेछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘शान्ति बोर्ड’ गाजामा हमास तथा अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणसम्बन्धी सम्झौतामा पुगेको बताएका थिए।

हमासले पनि वार्तापछि गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि नयाँ मार्गदर्शनमा सहमति भएको जनाएको थियो।

तर एकातर्फ युद्धविरामको दोस्रो चरणका लागि कूटनीतिक प्रयास भइरहँदा अर्कोतर्फ गाजामा आक्रमण जारी रहनुले सम्झौताको भविष्यबारे प्रश्न उठाएको छ।

गाजाका स्वास्थ्य अधिकारीहरूले यस वर्षको अहिलेसम्मकै सबैभन्दा घातक महिनाका रूपमा जुलाईलाई चित्रण गरेका छन्।

उनीहरूका अनुसार जुलाईमा मात्रै १५० भन्दा बढी मानिसको मृत्यु भएको छ, जसमा ठूलो संख्यामा नागरिकसमेत छन्।

युद्धविराम कार्यान्वयन, इजरायली सेनाको फिर्ती, हमासको निःशस्त्रीकरण र गाजाको भावी शासन संरचनाबारे कूटनीतिक वार्ता अघि बढिरहेका बेला जारी सैन्य कारबाहीले परिस्थितिलाई थप जटिल बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *