`

‘बालेन सरकारको ‘काउन्टडाउन’ सुरु’

Nepal One HD २० साउन २०८३ १५:०३
फोटोफिचर

काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिस्ट आन्दोलन पुरानो ढाँचाबाट अघि बढ्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्दै नयाँ राजनीतिक पुनर्गठनको प्रस्ताव अघि सारेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भइसकेको भन्दै अब नयाँ दृष्टिकोण, नयाँ घोषणापत्र र नयाँ राजनीतिक संरचनासहित अघि बढ्नुपर्ने धारणा राखे।

विप्लवका अनुसार पछिल्लो समय सबैजसो कम्युनिस्ट पार्टीभित्र आन्दोलनको भविष्य र दिशाबारे बहस भइरहेको छ। कुनै एक दल वा नेताको नेतृत्वबाट मात्रै नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन कठिन हुने उनको निष्कर्ष छ।

उनले विभिन्न कम्युनिस्ट शक्तिलाई समेट्ने गरी ‘नयाँ कम्युनिस्ट केन्द्र नेपाल’ निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारे।

‘नयाँ दृष्टिकोणसहित कम्युनिस्टलाई पुनर्गठन गर्नुपर्छ। नयाँ घोषणापत्र र नयाँ राजनीतिक दृष्टिकोणसहित अघि बढेपछि मात्रै कम्युनिस्ट आन्दोलन युवाहरूबीचबाट पुनः उठ्न सक्छ।’

विप्लवले पछिल्लो दुई दशकमा कम्युनिस्ट नेता र पार्टीहरूले गरेका राजनीतिक तथा संगठनात्मक गल्तीका कारण कम्युनिस्ट शक्तिप्रतिको जनसमर्थन कमजोर बनेको दाबी गरे।

उनका अनुसार कुनै समय करिब ७० प्रतिशतसम्म रहेको कम्युनिस्ट जनमत अहिले २२ देखि २५ प्रतिशतको हाराहारीमा खुम्चिएको छ।

यो अवस्थालाई सुधार्न पुरानै शैली र संरचनाबाट सम्भव नहुने उनको भनाइ छ। कम्युनिस्ट आन्दोलनलाई नयाँ अवधारणा र राजनीतिक दृष्टिकोणसहित रूपान्तरण तथा पुनर्गठन गर्नुपर्ने उनले बताए।

विप्लवले युवालाई केन्द्रमा राखेर नयाँ राजनीतिक बहस अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार नयाँ पुस्तालाई आकर्षित गर्न नसके कम्युनिस्ट आन्दोलनको प्रभाव थप कमजोर हुँदै जानेछ।

यसैबीच विप्लवले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको वर्तमान सरकारको भविष्यबारे पनि टिप्पणी गरेका छन्।

उनले सरकारको ‘दिनगन्ती’ सुरु भएको जस्तो देखिएको दाबी गर्दै विभिन्न बौद्धिक, विज्ञ, राजनीतिज्ञ तथा कूटनीतिज्ञबीच सरकार लामो समय टिक्न नसक्ने चर्चा चलिरहेको बताए।

यद्यपि यस्तो चर्चा कति यथार्थ र कति अनुमानमा आधारित छ भन्ने विषयमा भने थप मूल्यांकन आवश्यक रहेको उनको भनाइ थियो।

उनले भने,  ‘कति यथार्थ हो, कति काल्पनिक हो, हेर्नुपर्छ। तर विभिन्न बौद्धिक, विज्ञ, बुद्धिजीवी, राजनीतिज्ञ र कूटनीतिज्ञबीच यो सरकारको दिनगन्ती सुरु भइसकेको जस्तो देखिन्छ।’

विप्लवले दसैं–तिहारअघि वा त्यसपछि सरकार परिवर्तन हुन सक्ने किसिमका चर्चा सार्वजनिक रूपमा सुनिन थालेको बताए।

विप्लवले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको पनि टिप्पणी गरे।

सरकारबाट नागरिकले अपेक्षा गरेको परिणाम नआएको र राजनीतिक रूपमा समेत असन्तुष्टि बढ्दै गएको उनको संकेत थियो।

उनका अनुसार सरकारको कार्यक्षमता र जनविश्वासको अवस्था आगामी दिनमा अझ स्पष्ट हुँदै जानेछ।

विप्लवले कम्युनिस्ट आन्दोलनको पुनर्गठनसँगै मुलुकको समग्र राजनीतिक दिशामाथि समेत नयाँ बहस आवश्यक रहेको बताए।

उनका अनुसार पुराना राजनीतिक संरचना र अभ्यासको पुनरावलोकन गर्दै नयाँ पुस्तालाई केन्द्रमा राखेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने समय आएको छ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *