रास्वपामा बढ्यो टकराव, एक्लिए प्रधानमन्त्री बालेन
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लिएका छन् । झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकारको नेतृत्व गरिरहेका उनी एक्लिएको सन्देश आफैंले दिएका छन् ।
त्यही कारण सरकारले गरेको काम देखिन केही ढिला हुने तर नराम्रो नहुने भन्दै जनतालाई आश्वास्त पार्ने प्रयास गरेका छन् ।
चिन्ताभावमा उनले यस्तो अभिव्यक्ति त्यसबेला दिए, जतिबेला प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसदहरू प्रतिपक्षी दलका सांसदहरू जसरी सरकारको आलोचनामा उत्रिन थालेका छन् ।
पार्टीकै महामन्त्री विपिनकुमार आचार्यले उत्तीर्णाङ्क ४० राख्ने हो भने बालेन सरकार असफल भएको कडा टिप्पणी गरेका छन् ।
कोही एक्लैले देश बनाउन नसक्ने भन्दै प्रधानमन्त्री बालेनको कडा शब्दमा आलोचना गरेका छन् ।
जबकि, गत असारमा प्रधानमन्त्री बालेनले देश बनाउने टोली भन्दै आफू, गृहमन्त्री सुधन गुरुरू र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको तस्बिर राखेर प्रचार गरेका थिए ।
यसपछि सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने पक्षधर मन्त्री र सांसदहरू बालेनसँग रुष्ट भएका थिए ।
कतिसम्म भने बालेन सरकारमाथि पछिल्ला दिनमा जे जति प्रश्न जनता र प्रतिपक्षबाट उठेका छन्, रास्वपा सभापति रवि लामिछाने र उनीनिकट सांसदहरूले डटेर प्रतिरक्षा गर्न छाडेका छन् ।
यस्तोमा शुक्रबार मध्यरात हुनै लाग्दा फेसबुकमा प्रधानमन्त्री बालेनले आफू एक्लो भएको महसुस गरेका हुन् । यो आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ती दलका सांसदहरूप्रति लक्षित रहेको आकलन र व्याख्या भइरहेका छन् ।
हुन पनि शुक्रबार रास्वपा सांसदहरू मनिष झा, रमेश प्रसाईं, टीका संग्रगौला (ज्वाला)लगायत रास्वपाकै सांसदहरूले संसद्मा सरकारको कामबारे गम्भीर प्रश्न गरेका थिए । पार्टीकै सांसद डा. अमरेशकुमार सिंह विगतदेखि बालेन सरकारको खरो आलोचक छन् ।
सांसद पुरुषोत्तम यादव होस् वा जगदीश खरेल (दोलखा) बालेन सरकारको कडा आलोचक हुन् ।
यसपछि प्रधानमन्त्री बालेनले लेखेका हुन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला तर गलत हुँदैन । नआत्तिनुहोस् ।’
यसअघि सुकुम्बासीहरूलाई जबर्जस्ती विस्थापित गरेपछि पार्टीका प्रमुख सचेतक प्रदीपचन्द्र परियार र सचेतक क्रान्तिशिखा धितालले नै सरकारको विरोध गरेका थिए । त्यसबेला पनि प्रधानमन्त्री बालेनले सुकुम्बासी नागरिकलाई आश्वास्त पार्नेगरी लेखेका थिए, ‘ढुक्क हुनुहोस् ।’
तर, बालेन सरकार एकपछि अर्को विवादमा तानिएको छ । सार्वजनिक सेवा प्रवाह पूरै भद्रगोल छ । राहदानी लिन युवायुवतीको राहदानी विभागमा दिनहुँ लामो लाइन हुने गरेको छ । साल्ट ट्रेडिङका कार्यालयहरूमा ग्यास लिनेहरूको लाइन झण्डै दुई सातादेखि छ । बजारमा ग्यास हाहाकार कायमै छ ।
सरकारी अस्पतालहरूमा लाइन उस्तै छ । जबकि, बालेन सरकारले सार्वजनिक सेवाबारे भनेको थियो- नो लाइन, अनलाइन । तर, अहिले त्यस्तो छैन ।
किसानले अझै मल पाएका छैनन् । सहकारीपीडितहरूले न्याय पाएका छैनन् । लघुवित्तपीडितहरू आन्दोलनमै छन् । शिक्षकहरू आन्दोलनको सुरमा छन् । विस्थापित सुकुम्बासीहरू पनि आन्दोलनको तयारीमा छन् ।
नेकपा एमालेले सडक संघर्ष गर्ने महासचिव शंकर पोखरेलले बताइसकेका छन् । पछिल्लो एक महिनामा कम्तिमा ८ जनाले आत्मदाह गरे ।
नातावादको विरोध गर्ने बालेन सरकारले नाता र पार्टीसँग आबद्धहरूलाई धमाधम राजनीतिक नियुक्ति दिलाए ।
तराई मधेशमा यही साउन दोस्रो साता भएको धार्मिक तनावमा रास्वपाकै नेता कार्यकर्ता सभापति रवि लामिछानेसँग संवादमा बसेको र संयुक्त विश्व हिन्दु एकता समाजको नाममा गृहमन्त्री सुधन गुरुङलाई मागपत्र बुझाउने देखिएपछि राज्य प्रायोजित धार्मिक तनाव भनेर कतिपयले टिप्पणी गरे ।
यस्तोमा रास्वपा सभापति रवि लामिछाने निकटका नेताहरू बचाउमा उत्रिएनन् । यसबाहेक १७ जेठमा प्रधानमन्त्री बालेनले ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेपछि उनको यो अभिव्यक्तिको बचाउमा रास्वपा सांसदहरू उत्रिएका छैनन् ।
जबकि, प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै दिनहुँ प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री बालेनले क्षमा माग्नुपर्ने र सभामुखले संसदको रेडर्कबाट हटाउनुपर्ने माग गर्छन् । बालेन सरकारप्रति जति प्रश्न उठ्छन्, यसप्रति जवाफदेही सभापति लामिछाने र अन्य नेताहरू छैनन् ।
यस्तोमा उनले लेखे, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटी होइन ।’ प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि शनिबार रास्वपा महामन्त्री आचार्यले एक्लैले देश बनाउन नसकिने भन्दै जवाफ फर्काएका छन् ।
उनले भैरहवा पुगेर भने, ‘हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मिकी बनाउने त हाम्रो समाज हो नि त, त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला, सबै जना मिलेर यो देश बनाउने हो ।’
प्रधानमन्त्री बालेननिकट रास्वपा सांसद गणेश कार्कीले भने प्रधानमन्त्रीको पोस्टलाई राजनीतिक अर्थ लगाउनुपर्ने विषय नभएको बताए ।
‘उहाँ कविताहरू पनि लेखिरहने मान्छे हो। यो राजनीतिक अर्थ लगाउनुपर्ने गहन विषय नै केही होइन,’ उनले भने ।
तर, पार्टीभित्रको पछिल्लो गतिविधिले भने सांसद कार्कीको दाबीलाई खण्डित गर्छ । अर्थात् सांसद कार्कीको जवाफलाई सहजै पत्याउने अवस्था देखिँदैन ।
प्रधानमन्त्रीको पोस्टको भोलिपल्ट शनिबार रास्वपा सांसद मनीष झाले सामाजिक सञ्जालबाट जवाफ दिए ।
‘परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ,’ उनले लेखे ।
तर, उनले सरकारका केही पक्षमा सुधार आवश्यक रहेको पनि बताए । ‘नियत र आशयमा शंका छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ उनले भने ।
झाको यो प्रतिक्रियालाई पनि पार्टीभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ । हुन पनि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनबीचको सम्बन्ध पछिल्ला दिनमा ठिकठाक छैन । जुन तराई मधेशमा भएको हालैको धार्मिक तनावमा प्रकट भयो ।
१० साउनको रातिदेखि तनाव हुँदा पनि प्रधानमन्त्री बालेन १४ गते साँझसम्म मौन रहे । जबकि, प्रधानमन्त्रीले तनाव मत्थर गर्न सम्बोधन गर्नुपर्ने आवाज उठ्यो । यस्तोमा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाए । राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरे । धार्मिक अगुवाहरूसँग छलफलमा बसे । तराई-मधेशका सांसदहरूसँग बैठक बसे । धार्मिक तनाव मत्थर गर्न भूमिका निर्वाह गरे ।
यसलाई लिएर कतिपयले रविले सत्ताबाहिरबाटै प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको चर्चा चल्यो । यसपछि मात्रै प्रधानमन्त्री बालेनले देशवासीको नाममा सम्बोधन गरे । गृहमन्त्री सुधन गुरुङलाई तनावग्रस्त क्षेत्रमा पठाए । अन्ततः तनाव अन्त्य भएको छ।
उसो त यसअघि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको चर्चा चलेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोविता गौतमलगायतलाई हटाउने भन्दै सभापति रविसँग उनकै निवास बूढानीलकण्ठमा २८ असारमा संवाद गरेका थिए ।
त्यसको दुई दिनपछि रवि र वाग्लेबीच काभ्रेको एक होटलमा लामो संवाद भयो । यी परिघटनाहरूले रास्वपामा सभापति रवि र प्रधानमन्त्री बालेनबीच ठिकठाक छैन भन्ने देखाउने बताइन्छ ।
