…त्यसपछि किशोर श्रेष्ठले लेखे ‘कलम हारेको छैन, सत्य मरेको छैन’
काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि हिरासतमुक्त भएका ‘जनआस्था’ प्रकाशन प्रालिका अध्यक्ष तथा सम्पादक/पत्रकार किशोर श्रेष्ठले आफू नहारेको बताएका छन्।
रिहा भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सत्यको पक्षमा आफ्नो लेखन निरन्तर रहने बताएका हुन्।
श्रेष्ठले लेखेका छन्, ‘पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई । ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ । सत्य मरेको छैन । कलम हारेको छैन । सबैलाई बधाई, सबैलाई शुभकामना !’
बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार श्रेष्ठलाई हिरासतमुक्त गरी हाजिर जमानी वा तारेखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त आदेश दिएको हो।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइपछि सर्वोच्चले प्रहरीलाई उनलाई तत्काल हिरासतमुक्त गर्न परमादेश दिएको थियो।
अदालतको आदेशपछि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठलगायतको रोहबरमा जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार राति करिब साढे ९ बजे उनलाई रिहा गरेको हो।
सर्वोच्च अदालतले श्रेष्ठ पक्राउ पर्दा ‘जनआस्था’को कार्यालयबाट बरामद गरिएका सञ्चार उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ।
साउन २७ र २८ गते बरामद गरिएका ६ थान सीपीयू, कम्प्युटर, मोबाइल, ल्यापटप र आइप्याडलगायत सामग्री सर्वोच्च अदालतका सहरजिस्ट्रारको रोहबरमा निवेदक सरस्वती श्रेष्ठलाई तत्काल फिर्ता गर्न आदेश दिइएको हो।
रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफू यसअघि पनि पटक-पटक हिरासत तथा जेलमा परेको स्मरण गरे। पछिल्लो घटनामा पनि आफूले सत्ताविरुद्ध लेखेकै कारण कारबाहीको सामना गर्नुपरेको उनको भनाइ थियो।
उनका अनुसार पत्रकारिताको मूल दायित्व प्रश्न उठाउनु र सत्य बाहिर ल्याउनु हो। त्यसक्रममा आउने दबाब वा कानुनी प्रक्रियाबाट आफू पछि नहट्ने उनको संकेत थियो।
श्रेष्ठविरुद्ध ‘जनआस्था अनलाइन’मा २०८३ साउन २५ गते प्रकाशित समाचार तथा तस्बिरलाई लिएर वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।
सोही जाहेरीका आधारमा प्रहरीले साउन २७ गते उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो।
