`

स्पार्टाकस : एक मसीह

समीन बरुवाल ६ भदौ २०८३ १८:३७
फिचर

काठमाडाैं। स्वतन्त्रता र शोषणविरुद्धका संघर्षले मानव इतिहासमा धेरै ठूलाठूला क्रान्ति भएका छन्। यस्ता संघर्षले पुराना सत्ता र सामाजिक व्यवस्थालाई पराजित मात्र गरेका छैनन्, क्रान्ति सम्भव छ भन्ने मानकसमेत स्थापित गरेका छन्।

अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली क्रान्ति, हैटी क्रान्ति, रुसी अक्टोबर क्रान्ति र चीनको सांस्कृतिक क्रान्तिलाई यसकाे उदाहरणका लागि लिन सकिन्छ।

उल्लेखित क्रान्तिहरूका पृष्ठभूमि र उद्देश्य फरक भए पनि स्वतन्त्रता, समानता, अधिकार र शोषणविरुद्धको प्रतिरोध तिनका महत्वपूर्ण आधार थिए।

यस्तै प्राचीन रोममा दास प्रथाविरुद्ध स्पार्टाकसले गरेको विद्रोह पनि यसमा जोड्न सकिन्छ। हावर्ड फास्टद्वारा ‘स्पार्टाकस’ यही ऐतिहासिक विद्रोहमा आधारित उपन्यास हो।

प्राचीन दास समाजमा आधारित रहेर लेखिएको स्पार्टाकस उपन्यासलाई पछिल्लो समय देखिएका सुनिएका क्रान्तिहरूको उद्गम मान्न सकिन्छ। अमेरिकी लेखक तथा ऐतिहासिक उपन्यासकार हावर्ड फास्टद्वारा अत्यन्त उत्कृष्ट ढंगले लेखिएको स्पार्टाकस’ उपन्यासमा उनको अद्भुत लेखन कौशलको उच्चतम स्तर देखिन्छ।

स्पार्टाकस र उसका दास सेनाको कथा इतिहासका महाकाव्यात्मक घटनामध्ये एक हो। ईसाको सुरुआततिर भागेका दासहरूले बनाएका करिब ७० हजार सेनाले स्पार्टाकस र भागेका ग्लाडिएटरहरूको वीर समूहको नेतृत्वमा रोमको सैन्य शक्तिलाई झन्डै चार वर्षसम्म चुनौती दियो। 

उनीहरूले रोमका उत्कृष्ट सैन्य टुकडीहरूलाई पराजित गरे, दक्षिणी इटालीको ठूलो भू-भागमाथि नियन्त्रण कायम गरे र स्वयं ‘अनन्त नगरी’ रोमलाई समेत खतरा उत्पन्न गराए।

अन्ततः उनीहरू दासप्रथामा आधारित राज्यसत्ताबाट पराजित भए। त्यो व्यवस्था पतनको प्रक्रियामा रहे पनि अझै बलियो र स्थिर थियो। इतिहासकारहरूले जसलाई सौम्य भाषामा ‘दास विद्रोह’ वा ‘ग्लाडिएटर युद्ध’ भन्ने गरेका छन्, त्यो स्वतन्त्रताका लागि भएको क्रान्तिकारी संघर्ष थियो।

यसले करिब चार शताब्दीपछि परिपक्व हुने दास विद्रोहको पूर्व संकेत दिएको थियो, जसले अन्ततः ‘बर्बर आक्रमण’ र रोमन साम्राज्यको विनाशको बाटो खोल्यो र सँगै त्यस साम्राज्य टिकेको दास-उत्पादन प्रणालीसमेत समाप्त भयो।

स्पार्टाकसको विद्रोहले आधुनिक सर्वहारा वर्गका क्रान्तिकारी नेताहरूको ध्यान धेरै पहिलेदेखि आकर्षित गरेको थियो। ‘स्पार्टाकस’ उपन्यासको बारेमा कार्ल मार्क्सले सन् १८६१ मा फ्रेडरिक एंगेल्सलाई लेखेका थिए:

‘बेलुकाको समय केही आरामका लागि म एपियनको रोमन गृहयुद्ध पढिरहेको छु… स्पार्टाकस प्राचीन इतिहासकै सबैभन्दा उत्कृष्ट व्यक्तिका रूपमा देखापर्छ। महान् सेनापति, उच्च चरित्रको व्यक्ति, प्राचीन सर्वहाराको वास्तविक प्रतिनिधि।’

पछि सोभियत इतिहास लेखनले पनि ‘प्राचीन संसारबाट मध्ययुगतर्फको संक्रमण’ को विश्लेषणमा स्पार्टाकस विद्रोहलाई महत्वपूर्ण घटनाका रूपमा लियो।

स्पार्टकस पढ्ने क्रममा पात्र, कथा र त्यसमा उल्लेखित परिवेशसँग पाठकलाई घुलमिल हुन धेरै गाह्रो हुन्छ। स्पार्टाकसको कथा निकै कमलाई थाहा भएको हुनाले केही समकालीन लेखकका छरिएका र अपूर्ण विवरणहरूबाट मात्र उनको कथा पुनर्निर्माण गर्न सकिन्छ।

इन्साइक्लोपिडिया ब्रिटानिकाको रोमसम्बन्धी करिब एक लाख शब्दको लामो लेखमा समेत स्पार्टाकस विद्रोहका लागि तीन वाक्य छुट्याइएको छ। त्यस्तै, समकालीन साहित्यमा कतै-कतै स्पार्टाकसको विद्रोहलाई ‘हताश जंगलीहरू’, ‘कानुनविहीनहरू’, ‘लुटेराहरू’ वा ‘गरिब किसानहरू’ को आकस्मिक विद्रोहका रूपमा चित्रण गरेर यसको क्रान्तिकारी चरित्रलाई कमजोर पार्ने प्रयास गरिएको छ।

हावर्ड फास्टको उपन्यासमा स्पार्टाकसलाई अन्ततः पराजित गर्ने रोमन सेनापति आफ्ना साथीहरूसँग भव्य भिल्ला सालारियामा बसेर एउटा कुरा बताउँछन्। सिनेटको आदेशमा उनले विद्रोही दासहरूले ज्वालामुखी ढुंगाबाट भेसुभियसको ढलानमा बनाएका दुई भव्य स्मारकसमेत नष्ट गरेका थिए।

उनले भनेका छन्- उनीहरूले ती मूर्तिहरूलाई पूर्णरूपमा ध्वस्त पारेर भग्नावशेषमा परिणत गरे, ताकि त्यसको कुनै चिनोसमेत बाँकी नरहोस्। त्यसैगरी स्पार्टाकस र उसको सेनालाई पनि नष्ट गरिएको थियो र समयसँगै उनीहरूले स्पार्टाकसले के गरेको थियो र कसरी गरेको थियो भन्ने स्मृतिसमेत मेटाइदिनेछन्।

रोमन प्रेटर एम. लिसिनियस क्राससको यो भविष्यवाणी लगभग सफल भएको थियो। यसरी हावर्ड फास्टले स्वतन्त्रताका लागि भएको यो वीर दास युद्धलाई पुनः जीवित बनाए र त्यसको ऐतिहासिक महत्त्वलाई व्याख्या गरे। 

यो यस्तो युद्ध थियो, जसले त्यतिबेला पूर्ण रूपमा हासिल गर्न नसकिएको परिवर्तनको सम्भावनालाई अत्यन्त नजिक ल्याएको थियो, त्यस परिवर्तनका लागि आवश्यक आर्थिक र राजनीतिक विकास भने अझै पूरा हुन बाँकी थियो।

उपन्यासको परिवेश र कथा दुई हजार वर्षभन्दा पुरानो भए पनि यो स्पष्ट छ कि ‘स्पार्टाकस’ त्यहि समयलाई परिभाषित गर्न लेखिएको थियो। रोमन शासक वर्गको आडम्बरपूर्ण पतनलाई दासहरूको सरल गरिमा र प्रगतिशील ऊर्जासँग तुलना गरिएको छ। यसले आजका समाजका मुख्य वर्गहरूबीचको संघर्षका अनेक प्रतिरूपहरूलाई प्रतीकात्मक रुपमा झल्काउने कोसिस गरेको छ।

उपन्यासमा रोमन राजनीतिक नेताहरूको भ्रष्टाचार, उनीहरूको घोर यौन अनैतिकता र विकृति, महिलाहरूको अवमूल्यन तथा युवापुस्ताको पतन चित्रित गरिएको छ। जहाँ शासक वर्ग र चाकरीदारहरू ग्लाडिएटरहरूलाई जोडीजोडी मृत्युको मुखमा पठाएर हुने क्रूर मनोरञ्जनमा रमाउँछन्।

राज्यका ‘शत्रुहरू’ को सामूहिक क्रुसिफिक्सनप्रति उनीहरूमा अस्वाभाविक आकर्षणलाई झल्काइएको छ। उपन्यासमा भव्य सार्वजनिक स्नानगृह, विशाल लातिफुन्डिया जमिनदारी र शासक परिवारका विलासी भोजनहरूको विपरीत दासहरूको भयावह शोषण र शहरका गरिबहरूको हत्यारा गरिबी देखाउन खोजिएको छ ।

स्पार्टकस उपन्यासमा पाठकले दासबाहेकको लगभग सम्पूर्ण जनसंख्या परजीवीजस्तै बनेको यस्तो समाज देख्न सक्छ । जुन समाजमा राज्यबाट पाउने भत्ता, सेनामा भर्ती हुनु वा पैसाको लागि अरूको सूचना दिनुलाई श्रम गर्नुभन्दा बढी ‘सम्मानजनक’ मानिन्छ । साथै, यस सडेको व्यवस्थाको बौद्धिक समर्थन गर्ने दार्शनिक र राजनीतिज्ञहरूको खोक्रो दास मानसिकतासमेत समेटिएको छ। सिसेरोजस्ता व्यक्तिहरू ‘राज्य र कानुनले सबै मानिसको सेवा गर्छन् र कानुन न्यायपूर्ण छ’ भन्ने तर्कद्वारा अन्यायलाई समेत वैध ठहर्याउन खोज्छन्।

यद्यपि फास्टले कुलीन पात्रहरूको यौन साहसिकता र सम्बन्धका प्रसंगहरू अत्यधिक विस्तारमा प्रस्तुत गरेका छन्, जसले उपन्यासलाई केही हदसम्म कमजोर बनाएको छ।

अर्कोतर्फ,पाठकले रोमन दासहरूको अन्तर्निहित मानवीय गरिमा र आध्यात्मिक श्रेष्ठता पनि देख्न सक्छ। स्पार्टाकसका अनुयायीहरूबीचको ‘पीडितहरूको भ्रातृत्व’ मा विभिन्न देश, जाति र धर्मका मानिसहरू एकताबद्ध हुन्छन्। उनीहरू आफ्ना नेताहरूलाई प्रेम र सम्मान गर्छन्।

यहाँ नियमको सन्दर्भमा यस्तो लेखिएको छ : 

‘हामीले जे लिन्छौँ, त्यो सबैको साझा हुनेछ। कुनै मानिससँग उसको हतियार र कपडाबाहेक अरू केही व्यक्तिगत स्वामित्वमा हुने छैन…हामी कुनै महिलालाई श्रीमतीका रूपमा बाहेक लिने छैनौँ… र कुनै पुरुषले एकभन्दा बढी श्रीमती राख्ने छैन।’

यी प्रसंगहरूसँगै  स्पार्टाकसले आफ्ना अनुयायीहरूलाई सोध्छन्:

‘रोम भनेको दासहरूको रगत, पसिना र पीडाबाहेक के हो ? हामीले बनाउन नसक्ने त्यहाँ के छ?’

दासहरू भन्छन्-

‘दासको एउटै सद्गुण भनेको जीवित रहनु हो।’

फास्टले स्पार्टाकसमार्फत यस्तो समाजको कल्पना गरेका छन् – ‘जहाँ दास र मालिक हुँदैनन्, केवल मानिसहरू शान्ति र भ्रातृत्वमा सँगै बस्छन्… पर्खालविहीन शहरहरू… युद्ध हुँदैन, दुःख हुँदैन र पीडा हुँदैन।’

प्राचीन रोमको पतनशील वर्गीय समाज र अहिलेको समाजका आधारभूत अन्तर्विरोधहरूलाई उपन्यासभित्र यति कुशलतापूर्वक बुनेर प्रस्तुत गरिएको छ कि पाठक राजनीतिक उद्देश्यबारे धेरै सोच्न नपाई कथाको आकर्षणमा अघि बढ्छ। अनि यसले कतिबेला मष्तिष्कमा  सामाजिक परिवर्तनको गतिशीलताबारे गहिरो छाप बनाइदिन्छ त्यो थाहा नै हुन्दैन।  

उपन्यासले स्पार्टाकसको विद्रोह दासप्रथामा आधारित वर्गीय समाजका गहिरा र अन्तर्निहित अन्तर्विरोधहरूको परिणामका रुपमा स्थापित गरेको छ। स्पार्टाकस ग्लाडिएटरको मैदानमै मरेको भए पनि इतिहासको मूल प्रवाहमा ठूलो परिवर्तन नआउने हुन सक्थ्यो भन्ने संकेत फास्टले दिएका छन्।

फास्टले नैतिकताको वास्तविक वर्गीय आधारसमेत देखाउने प्रयास गरेका छन्।   

‘स्पार्टाकस’ पात्र सायद फास्टको मगजमा गहिरो शक्ति इतिहाससम्बन्धी ती अन्तर्दृष्टिका कारण र मार्क्सवादी दृष्टिकोणबाट आएको देखिन्छ।

यद्यपि फास्टले लेखनको उत्कृष्टता कायम नै राखेका छन्। ‘स्पार्टाकस’ उनको अत्यन्त उत्कृष्ट ढंगले लेखिएको उपन्यास हो भन्दा फरक पर्दैन।  

तर उपन्यासको एउटा महत्वपूर्ण कमजोरी के हो भने अधिकांश पात्रहरू पूर्ण रूपमा विकसित भएका छैनन्। सम्भवतः डेभिड मात्र यस्तो पात्र हो, जसलाई तुलनात्मक रूपमा पूर्ण रूपमा चित्रण गरिएको छ। कतिपय अवस्थामा त ऊ स्पार्टाकसकै समान मुख्य पात्रजस्तो देखिन्छ। पूरै कथा स्पार्टाकसकै बारेमा भए पनि पाठकले उसलाई मुख्यतः उसका साथी र शत्रुहरूको आँखाबाट चिन्छ। स्पार्टाकस स्वयंलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर निकै कम दिइएको छ।

यो कमजोरी कथाको दृष्टिकोणसँग पनि जोडिएको छ। कथा मुख्यतः रोमन शासक वर्गका महिला र पुरुषहरूको दृष्टिबाट अघि बढ्छ, सम्भवतः उनीहरूको पतन देखाउनका लागि। दासहरूको कथा पनि धेरै हदसम्म उनीहरूका मालिकहरूको व्यवहार र संवादको माध्यमबाट खुल्छ, दासहरूको प्रत्यक्ष अनुभव भने बीच-बीचमा मात्र आउँछ।

क्रान्तिकारी दासहरूले गरेको संघर्षलाई व्याख्या गर्न यस्तो दृष्टिकोण केही अस्वाभाविक र अनुपयुक्त लाग्छ।

तर ‘स्पार्टाकस’ को सबैभन्दा गम्भीर कमजोरी यसको अन्त्यमा देखिन्छ। अन्तिम भाग अत्यन्तै उदारवादी, आत्मविरोधी र अविश्वसनीय छ। किनकी फास्टले समग्रमा यति शक्तिशाली र यथार्थपरक उपन्यासलाई यस्तो भावुक र अविश्वसनीय अन्त्यद्वारा कमजोर बनाएका छन्।

‘स्पार्टाकस’को अन्तिम अध्याय अनावश्यक र कथाको गति तोड्ने खालको छ। त्यसमा वरिनिया स्वतन्त्रतातर्फ जाने यात्राको कथा र आल्प्स पर्वतको फेदीमा गॉल किसानहरूबीच आफ्ना सन्तानसँग बिताएको जीवनको सारांश दिइएको छ। 

यी सबै कुरा पाठकको कल्पनामा छाडिएको भए अझ प्रभावकारी हुने थियो। कमजोरी हुँदाहुँदै पनि ‘स्पार्टाकस’ एउटा अत्यन्त उत्कृष्ट उपन्यास हो र यसले व्यापक पाठकसम्म पुग्न योग्य स्थान राख्छ भन्न मिल्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *