`

चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ खोज्दै चीनको ‘छाङअ-७’

Nepal One HD ६ भदौ २०८३ १८:२९
फिचर

एजेन्सी। चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका स्थायी छायाँयुक्त खाडलमा जमेको पानी अर्थात् बरफको खोजी गर्न मानवरहित रोबोटिक अन्तरिक्ष अभियान ‘छाङअ–७’ प्रक्षेपणको तयारी गरेको छ। अभियान अगस्ट २४ देखि ३१ सम्मको अवधिमा प्रक्षेपण गर्ने तयारी छ।

चीनको चन्द्र अन्वेषण कार्यक्रमअन्तर्गत यो अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी अभियानमध्ये एक हो। अभियानमा अर्बिटर, ल्यान्डर, रोभर र हपर गरी चार प्रमुख अन्तरिक्षयान रहनेछन्।

अर्बिटरले चन्द्रमाको कक्षबाट सतहको नक्साङ्कन र तस्बिर खिच्नेछ। ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवनजिक रहेको स्याकलटन क्रेटरको किनारमा अवतरण गर्ने लक्ष्य राखिएको छ। करिब २१ किलोमिटर चौडा उक्त खाडलको केही भागमा सूर्यको प्रकाश अत्यन्त कम पुग्छ।

रोभरले अवतरणस्थल आसपासको माटो, चट्टान र वातावरणको अध्ययन गर्नेछ। हपर भने चन्द्रमाको सतहबाट छोटो दूरीसम्म उफ्रिएर पुनः अवतरण गर्न सक्ने गरी डिजाइन गरिएको छ। यसको मुख्य उद्देश्य स्याकलटन क्रेटरका स्थायी छायाँयुक्त भागको अध्ययन गर्नु हो।

चन्द्रमामा बरफ कसरी भेटियो ?

वैज्ञानिकहरूले लामो समयदेखि चन्द्रमामा पानी हुन सक्ने अनुमान गर्दै आएका थिए। तर अपोलो अभियानबाट ल्याइएका प्रारम्भिक नमुना भने लगभग सुख्खा देखिएका थिए।

सन् २००९ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको स्थायी छायाँमा रहेको एउटा खाडलमा रकेटको हिस्सा ठोक्काएर त्यहाँबाट उडेको धुलोको विश्लेषण गरेको थियो। त्यस क्रममा बरफका रूपमा पानी रहेको प्रत्यक्ष प्रमाण प्राप्त भएको थियो।

त्यसपछि भएका विभिन्न अध्ययनले चन्द्रमाको सतहमा रहेका खनिजका कणमा पानीका अणु रहेको र ध्रुवीय क्षेत्रमा स्थायी छायाँमा रहेका खाडलमा बरफको रूपमा थप पानी सञ्चित हुन सक्ने देखाएका छन्।

यस्ता क्षेत्रमा लाखौँ वा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश नपुगेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

चन्द्रमाको पानीको अध्ययन वैज्ञानिक अनुसन्धानका दृष्टिले मात्र नभई भविष्यका अन्तरिक्ष अभियानका लागि पनि महत्वपूर्ण मानिन्छ।

चन्द्रमामा पर्याप्त पानी उपलब्ध भएको प्रमाणित भएमा भविष्यमा त्यहाँ जाने मानवसहितका अभियानका लागि पिउने पानीको स्रोत बन्न सक्छ। पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याएर रकेट इन्धन तथा श्वासप्रश्वासका लागि आवश्यक अक्सिजनसमेत उत्पादन गर्न सकिने सम्भावना छ।

यसले भविष्यमा चन्द्रमालाई मंगल ग्रहलगायत अन्य गन्तव्यतर्फ जाने अन्तरिक्ष अभियानको आधार केन्द्रका रूपमा प्रयोग गर्ने सम्भावनासमेत बढाउन सक्छ।

त्यस्तै, ध्रुवीय क्षेत्रमा सुरक्षित रहेको प्राचीन बरफले चन्द्रमामा पानी कसरी आयो भन्ने मात्र होइन, पृथ्वी–चन्द्र प्रणालीमा पानीको इतिहास बुझ्न पनि महत्वपूर्ण जानकारी दिन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा पानी खोज्ने प्रयास चीनको मात्र होइन। सन् २०२३ मा रुसले ‘लुना–२५’ अभियान प्रक्षेपण गरेको थियो। दक्षिणी ध्रुवमा अवतरण गरेर बरफको खोजी गर्ने लक्ष्य राखिएको उक्त अभियान चन्द्रमामा दुर्घटनाग्रस्त भएपछि सफल हुन सकेन।

त्यही वर्ष भारतको ‘चन्द्रयान-३’ भने सफलतापूर्वक चन्द्रमामा अवतरण भएको थियो। दक्षिणी ध्रुवनजिकै गरिएको त्यसको अध्ययनले चन्द्रमाको सतहको तापक्रम तथा पानीसँग सम्बन्धित अनुसन्धानमा महत्वपूर्ण तथ्य उपलब्ध गराएको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा असंख्य खाडल, गहिरा खोंच र अत्यन्त जटिल भू-भाग छन्। कतिपय क्षेत्रमा सूर्यको प्रकाश नै पुग्दैन भने कतिपय स्थानमा सञ्चार र ऊर्जा व्यवस्थापनसमेत चुनौतीपूर्ण हुन्छ।

यही कारण विगतका अधिकांश चन्द्र अभियान भूमध्यरेखानजिकका तुलनात्मक रूपमा सहज क्षेत्रमा केन्द्रित थिए। दक्षिणी ध्रुवमा सफल अवतरण र त्यहाँका स्थायी छायाँयुक्त क्षेत्रमा अनुसन्धान गर्नु प्राविधिक रूपमा निकै चुनौतीपूर्ण मानिन्छ।

‘छाङअ-७’ को विशेषता

‘छाङअ-७’ को विशेषता भनेको चन्द्रमाको गहिरो, अँध्यारा खाडलमा प्रत्यक्ष पुगेर पानीको बरफ खोज्ने प्रयास हो। छ खुट्टे हपरले आवश्यकताअनुसार सतहबाट उफ्रिँदै खाडलभित्र प्रवेश गर्ने र पुनः बाहिर निस्कने गरी काम गर्नेछ।

अभियानले चन्द्रमामा बरफ कहाँ छ, कति मात्रामा छ, कति गहिराइमा छ र भविष्यमा त्यसलाई निकालेर प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा थप जानकारी जुटाउने लक्ष्य राखेको छ।

चन्द्रमाको पानीमा कुनै देशले स्वामित्व दाबी गर्न पाउने विषय भने अझै अन्तर्राष्ट्रिय कानुनको जटिल प्रश्न हो।

सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धिले कुनै देशलाई चन्द्रमालाई आफ्नो भूभागका रूपमा दाबी गर्न रोक्छ। तर अन्तरिक्ष स्रोतको व्यावसायिक उपयोगका विषयमा भने विभिन्न कानुनी व्याख्या र बहस जारी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *