`

गरिमा हत्या प्रकरणमा न्याय माग्दै देशभर प्रदर्शन

रामचन्द्र जोशी ६ भदौ २०८३ १८:१४
बिशेष

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देशका विभिन्न सहरमा प्रदर्शन चर्किएको छ । बालिकाको हत्यामा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै शनिबार काठमाडौं, बुटवल र पोखरालगायतका स्थानमा प्रदर्शन गरिएको हो ।

गरिमाको न्यायका लागि स्थानीयस्तरमा भइरहेको आन्दोलनले समेत निरन्तरता पाएको छ । वीरगञ्ज-पथलैया सडकखण्डको सिमरामा स्थानीयले सडकमा टेन्ट राखेर प्रदर्शन गरिरहेका छन् । गत बुधबार बिहानदेखि बन्द रहेको उक्त सडकखण्ड शनिबार चौथो दिन पनि ठप्प रहेको छ । बालिकाको हत्यापछि आक्रोशित स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेर आन्दोलन गर्दै आएका हुन् ।

गरिमा चौधरीको न्यायका लागि काठमाडौंमा पनि नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मीहरू सडकमा उत्रिएका छन् । स्वतन्त्र आमा नेपाललगायत विभिन्न संघसंस्थाको अगुवाइमा शनिबार काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय दे’ लगायतका नारा लगाएका थिए । उनीहरूले हातमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर दोषीलाई हदैसम्मको सजाय दिन सरकारसँग माग गरे ।

काठमाडौंको प्रदर्शनमा ‘बलात्कारीलाई फाँसी दे’, ‘छोरी जन्मनु अपराध हो?’ लगायतका नारासहितका प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरूले राज्यले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नसक्दा यस्ता घटना दोहोरिरहेको भन्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् ।

यस्तै, बुटवलमा पनि शनिबार बिहान सयौं महिलाले गरिमाको न्याय माग्दै प्रदर्शन गरेका छन् । बिहान ११ बजे ट्राफिक चोकबाट सुरु भएको प्रदर्शन बुटवल उपमहानगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय हुँदै तुलसीपुर उच्च अदालत बुटवल इजलाससम्म पुगेको थियो । प्रदर्शनकारीले विभिन्न स्थानमा केही समय धर्नासमेत दिएका थिए ।

कालो ब्यानर तथा प्लेकार्डसहित सडकमा निस्किएका महिलाहरूले बालिकामाथि भएको बलात्कार र हत्याका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए । उनीहरूले यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिमाथि कडा सजाय हुन नसक्दा अपराधीको मनोबल बढेको भन्दै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

पोखरामा पनि गरिमाको न्यायका लागि युवा तथा युवतीहरूले प्रदर्शन गरेका छन् । शनिबार मानवअधिकार चोकमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर घटनाको विरोध गरेका थिए । उनीहरूले बालिका तथा महिलाको सुरक्षाका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।

यसैबीच, गरिमाको न्यायका लागि सिमरामा भइरहेको सडक आन्दोलनले यातायातसमेत प्रभावित भएको छ । बिहीबार राति स्थानीय प्रशासन, केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा पाँचबुँदे सहमति भए पनि मृतक बालिकाका परिवारले उक्त सहमति अमान्य रहेको बताएका छन् । त्यसपछि स्थानीयको सडक आन्दोलनले निरन्तरता पाएको हो ।

सुरुवातमा स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै उनको सरुवाको माग गरेका थिए । प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको सरुवा भएपछि प्रशासन र स्थानीयबीच पाँचबुँदे सहमति भएको थियो । तर, पीडित परिवारले सहमतिप्रति असहमति जनाएपछि आन्दोलन रोकिएको छैन ।

प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब साढे ८ बजे घरबाट बेपत्ता भएकी थिइन् । स्थानीय सरस्वती आधारभूत विद्यालयमा प्ले ग्रुपमा अध्ययनरत गरिमा हराएपछि परिवार र स्थानीयले खोजी गरेका थिए । खोजीका क्रममा मंगलबार साँझ घरदेखि करिब २०० मिटरको दूरीमा रहेको एउटा खाली घरमा उनको शव फेला परेको थियो ।

गाउँको बीचमा रहेको उक्त खाली घरबाट दुर्गन्ध आउन थालेपछि प्रहरीले खोजी गर्दा कपडामा पोको पारिएको अवस्थामा बालिकाको शव फेला पारेको बताइएको छ ।

घटनापछि बालिकाको परिवार शोकमा डुबेको छ भने देशका विभिन्न ठाउँमा दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले गरिमा चौधरीको घटनालाई न्यायिक प्रक्रियामार्फत निष्पक्ष रूपमा अनुसन्धान गरी दोषीमाथि कडा सजाय सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *