दुर्गा प्रसाईंको स्थायी ‘सर्वोच्च नेता’ अडानले धवल पक्षसँग एकता भाँडिएको खुल्यो
काठमाडौं । दुर्गा प्रसाईंले पार्टीको ‘सर्वोच्च नेता’ पद स्थायी हुनुपर्ने अडान लिएपछि डा. धवलशम्शेर राणासँगको एकता प्रयास टुंगिन नसकेको खुलेको छ ।
पार्टी महाधिवेशन भए पनि सर्वोच्च नेताको पदमा प्रसाईंले प्रतिस्पर्धा गर्न नपर्ने, उम्मेदवारीसमेत दिनु नपर्ने र पद स्थायी रहने गरी प्रसाईंले राखेको प्रस्तावमा सहमति जुट्न नसकेपछि राणाले एक्लै जय नेपाल पार्टी गठन गरेका छन् ।
प्रजातान्त्रिक पार्टी गठन गर्ने उद्देश्यसहित राणा र प्रसाईं पक्षबीच केही समयदेखि छलफल हुँदै आएको थियो । प्रारम्भिक समझदारीअनुसार राणाले पार्टीको नेतृत्व गर्ने र प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिने सहमति बनेको थियो ।
त्यसअनुसार आगामी निर्वाचनमा जनतामाझ जाने, चुनाव जितेर आएपछि पार्टीको संसदीय फाँटको जिम्मेवारी प्रसाईंले सम्हाल्ने र पार्टी सरकारमा गएमा प्रसाईंको नेतृत्वमा सरकारमा सहभागी हुने गरी जिम्मेवारी बाँडफाँट गर्ने समझदारी भएको थियो ।
तर, पछि प्रसाईंले आफ्नो पदको विषयमा थप सर्त राखेपछि एकताको वातावरण बिग्रिएको प्रसाईं पक्षीय एक असन्तुष्ट नेताले बताए । उनका अनुसार प्रसाईं सर्वोच्च नेता बनेपछि उक्त पद स्थायी हुनुपर्ने पक्षमा थिए ।
‘दुर्गाजीको कुरा सर्वोच्च नेता स्थायी हुनुपर्छ भन्ने थियो । पार्टीको महाधिवेशन हुँदा पनि उहाँ सर्वोच्च नेताको पदमा चुनाव लड्नु नपर्ने, उम्मेदवारीसमेत दिनु नपर्ने र महाधिवेशनले उहाँलाई फेरि जिताएर ल्याउनुपर्ने अवस्था नहुने भन्ने थियो,’ प्रसाईं पक्षीय एक असन्तुष्ट नेताले भने ।
उनका अनुसार राजनीतिक विचार, पार्टीको कार्यक्रम वा नेतृत्वको कार्यदिशामा समस्या थिएन । विवाद मुख्यतः सर्वोच्च नेताको पदलाई स्थायी बनाउने कि पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भन्ने विषयमा थियो ।
‘एकता नहुनुको मुख्य कारण वैचारिक वा राजनीतिक होइन, पदको सुरक्षाको विषय हो । सर्वोच्च नेता भएपछि त्यो पद स्थायी हुनुपर्छ भन्ने अडानले समस्या भयो,’ ती नेताले भने ।
यद्यपि, प्रसाईं र राणा पक्षबीच संवाद भने पूर्ण रूपमा टुटेको छैन । भविष्यमा सहकार्य वा एकताको सम्भावनाबारे छलफल जारी रहेको ती नेताले बताए ।
