कमेडियन अमरेन्द्र यादवलाई ज्यान मार्ने धम्की
काठमाडौं। स्ट्यान्ड-अप कमेडियन अमरेन्द्र यादवले आफूलाई पछिल्लो तीन दिनदेखि निरन्तर मानसिक दबाब र ज्यान मार्ने धम्की आइरहेको बताएका छन्।
‘कमेडी बाज’मा पछिल्लो पटक दिएको प्रस्तुतिपछि आफू एमालेका केही कार्यकर्ता तथा समर्थकको निशानामा परेको उनको दाबी छ। घटनाका कारण आफू गम्भीर मानसिक तनावमा रहेको र कोठाबाट बाहिर निस्कनसमेत डर लागिरहेको उनले बताएका छन्।
यादवले सामाजिक सञ्जालमार्फत आफूलाई व्यक्तिगत रूपमा गाली गर्ने, मानसिक रूपमा दुःख दिने तथा धम्की दिने क्रम बढेको बताएका हुन्।
उनले लेखेका छन्, ‘मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ। मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ, कहिलेसम्म रुममा बस्ने म?’
यादवले पछिल्ला तीन–चार दिनदेखि आफू निकै दबाबमा रहेको उल्लेख गर्दै निरन्तर धम्की आउन थालेपछि आफ्नो सुरक्षाबारे चिन्ता बढेको बताएका छन्।
‘कमेडी बाज’को पछिल्लो एपिसोडमा एमाले नेता सूर्य थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा यादवले दुवै अतिथिलाई व्यंग्यात्मक शैलीमा रोस्ट गरेका थिए। विशेषगरी सूर्य थापासँग उनको सवाल–जवाफसमेत भएको थियो। उक्त प्रस्तुतिको भिडियो तथा क्लिप सामाजिक सञ्जालमा चर्चामा आएपछि यादवमाथि राजनीतिक पक्षधरता देखाएको आरोपसमेत लागेको उनको भनाइ छ।
आफ्नो प्रस्तुतिपछि आफूलाई धेरैले एमालेविरोधीका रूपमा बुझ्न थालेको यादवले बताएका छन्। तर आफू कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको उनले स्पष्ट पारेका छन्।
उनका अनुसार स्ट्यान्ड-अप कमेडीमा विभिन्न राजनीतिक विचार र व्यक्तिमाथि व्यंग्य गर्नु प्रस्तुतिको स्वाभाविक हिस्सा हो। विगतमा आफूले अन्य राजनीतिक विचारधारा र दलसँग आबद्ध व्यक्तिहरूलाई पनि रोस्ट गरेको उनले स्मरण गराएका छन्।
यादवले आफूले प्रस्तुतिमा गरेको व्यंग्यलाई राजनीतिक विरोधका रूपमा नबुझ्न आग्रह गर्दै व्यक्तिगत गालीगलौज र धम्की दिनु स्वीकार्य नहुने बताएका छन्।
घटनाबारे उनले सार्वजनिक रूपमा सुरक्षा चिन्ता व्यक्त गरे पनि धम्की दिने व्यक्तिहरूको पहिचान वा उनीहरूमाथि कुनै कानुनी कारबाही भएकोबारे भने थप विवरण सार्वजनिक भएको छैन।
