उत्तर कोरियाले परीक्षण गर्यो ५ हजार टनको युद्धपोत, किमले हेरे मिसाइल प्रक्षेपण
काठमाडौं । उत्तर कोरियाले ५ हजार टन क्षमताको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को हतियार परीक्षण गरेको छ। राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार शुक्रबार गरिएको परीक्षणमा क्रुज मिसाइल प्रक्षेपणसँगै विद्युतीय युद्ध प्रणालीको समेत परीक्षण गरिएको हो।
नेता किम जोङ उनले परीक्षणको प्रत्यक्ष निरीक्षण गर्दै युद्धपोतलाई थप परीक्षण पूरा गरेर दुई महिनाभित्र नौसेनामा हस्तान्तरण गर्न निर्देशन दिएका छन्। परीक्षणका क्रममा किमले पहेँलो टोपी लगाएर समुद्री क्षेत्रको अग्लो स्थानबाट मिसाइल प्रक्षेपण अवलोकन गरेको तस्वीर केसीएनएले सार्वजनिक गरेको छ।
‘काङ कोन’ गत वर्ष परीक्षणकै क्रममा दुर्घटनामा परेको थियो। किमकै उपस्थितिमा गरिएको पानी परीक्षणका क्रममा जहाज आंशिक रूपमा पल्टिएपछि त्यसमा क्षति पुगेको थियो। घटनापछि किमले दुर्घटनालाई गम्भीर लापरवाही र गैरजिम्मेवारीको परिणाम भन्दै दोषीमाथि कारबाही गर्न निर्देशन दिएका थिए।
मर्मतपछि पुनः परीक्षण गरिएको यो युद्धपोत अर्को ५ हजार टनको विध्वंसक ‘चोए ह्योन’ नौसेनामा प्रवेश गरेको दुई साताभन्दा कम समयपछि परीक्षण गरिएको हो।
‘चोए ह्योन’लाई सैन्य सेवामा प्रवेश गराउने क्रममा किमले उत्तर कोरियाको नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने र १० हजार टनसम्मका नयाँ युद्धपोत विकास गर्ने योजना सार्वजनिक गरेका थिए।
केसीएनएका अनुसार पछिल्लो परीक्षणपछि किमले उत्तर कोरियाको युद्ध प्रतिरोधात्मक क्षमता अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। उनले देशको सैन्य शक्ति प्रदर्शनलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
