महाकाली नदीमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण
कञ्चनपुर । महाकाली नदीको बाढीबाट हुने क्षति न्यूनीकरण गर्न कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ। तटबन्ध निर्माणपछि नदी किनारका बस्ती तथा खेतीयोग्य जमिनलाई बाढी र कटानबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, कञ्चनपुरले ११ करोड ६५ लाख रुपैयाँ खर्च गरेर तटबन्ध निर्माण गरेको हो। बर्सेनि महाकाली र जोगबुढा नदीको बाढीबाट प्रभावित हुँदै आएका बस्तीलाई सुरक्षित बनाउन तटबन्ध निर्माण गरिएको कार्यालयले जनाएको छ।
आयोजना प्रमुख रञ्जनराज भट्टराईका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर तटबन्ध निर्माण गरिएको छ। त्यस्तै भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल क्षेत्रनजिक ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको छ।
तटबन्ध निर्माणको सबैभन्दा ठूलो लाभ दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीलाई पुगेको छ। महाकाली र जोगबुढा नदीको दोसाँधमा रहेको उक्त बस्ती बर्सेनि बाढीको उच्च जोखिममा पर्दै आएको थियो।
कुतियाकवर बस्तीको संरक्षणका लागि मात्रै ७६२ मिटर तटबन्ध निर्माण गरिएको आयोजनाले जनाएको छ। पूर्वतर्फ महाकाली र उत्तरतर्फ जोगबुढा नदी रहेकाले दुवै नदीमा पानीको बहाव बढ्दा बस्तीमा बाढी पस्ने तथा नदी कटान हुने समस्या थियो।
तटबन्ध निर्माण भएपछि बस्ती तथा आसपासका खेतीयोग्य जमिनको संरक्षणमा सहज हुने स्थानीयको अपेक्षा छ। बाढीका कारण वर्षेनी हुने भौतिक तथा कृषि क्षेत्रमा हुने क्षति घटाउन पनि तटबन्ध महत्वपूर्ण हुने देखिएको छ।
यसैबीच, महाकाली नदी नियन्त्रण तथा व्यवस्थापनका लागि पुराना संरचनाको मर्मतसम्भारको काम पनि नियमित रूपमा भइरहेको आयोजनाले जनाएको छ। महाकाली नदीमा निर्माण गरिएको करिब २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएपछि कार्यालयले आवश्यक मर्मत तथा संरक्षणका काम गर्दै आएको छ।
