मल आउनमा ढिलाइ भएको कृषिमन्त्रीले स्वीकारिन्
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अन्तर्राष्ट्रिय बजारबाट मल आयात गर्नुपर्ने भएकाले आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले मल आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने बताइन्।
उनका अनुसार भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौतामार्फत मल आयात भइरहेको छ। साउन १ गतेदेखि हालसम्म ६२ हजार मेट्रिक टन मल नेपाल भित्रिसकेको र थप ६४ हजार मेट्रिक टन मल नेपाल आउने क्रममा रहेको उनले जानकारी दिइन्।
‘भारतबाट जीटूजी गरेर मल आउने क्रममा नै छ। साउन १ देखि अहिलेसम्म ६२ हजार मेट्रिक टन ल्याएको छ। ६४ हजार मेट्रिक टन बाटोमा छ,’ मन्त्री चौधरीले भनिन्।
उनले चालु आर्थिक वर्षका लागि ठूलो परिमाणमा मल आयात गर्ने तयारी भइरहेको जानकारी दिइन्। उनका अनुसार यस आर्थिक वर्षमा करिब २ लाख ८८ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखिएको छ।
मन्त्री चौधरीले मल अन्तर्राष्ट्रिय बजारबाट खरिद तथा ढुवानी गर्नुपर्ने भएकाले विभिन्न कारणले आपूर्तिमा समय लागेको बताइन्। मलको माग उच्च हुने समयमा आपूर्ति सहज बनाउन आयातसँगै वितरण प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
उनले किसानले समयमै मल पाउने गरी वितरण प्रक्रियामा देखिएका समस्या समाधान गर्दै जाने प्रतिबद्धता जनाइन्।
साथै, आयात भएको मल वास्तविक किसानसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको बताइन्।
