तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा आन्दोलन जारी, आज पनि सडक अवरुद्ध
बारा। जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा बारामा जारी प्रदर्शन बिहिवार पनि रोकिएको छैन।
पीडित परिवार तथा स्थानीयवासीले बुधबार बिहानदेखि पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गर्दै आएका छन्।
बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका हुन्।
सडक अवरुद्ध हुँदा पथलैया–वीरगन्ज सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीका अनुसार साउन ३१ गते बिहान घरबाट बेपत्ता भएकी बालिका सोही दिन भक्तिनगरस्थित एक खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको बलात्कारपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनाले बालिकालाई चकलेटको प्रलोभन देखाएर घटनास्थलमा लगेको र हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ।
बालिकाको हत्यापछि स्थानीयवासी आक्रोशित बनेका छन्। घटनामा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
प्रदर्शनका कारण मुख्य राजमार्गमै यातायात प्रभावित भएपछि यात्रु तथा सवारीसाधनले थप सास्ती खेप्नुपरेको छ।
प्रहरीले भने स्थिति नियन्त्रणमा लिन तथा सडक सञ्चालनको प्रयास गरिरहेको जनाएको छ।











